+

गैरआवासीय नेपालीलाई बैंक खाता खोल्न राष्ट्रिय परिचय पत्र अनिवार्य नहुने

१ श्रावण २०८३, शुक्रबार २१:४५

काठमाडौं । गैरआवासीय नेपाली (एनआरएन) हरूका लागि नेपालमा बैंक खाता सञ्चालन तथा ‘नो योर कस्टमर’ अपडेट गर्दा राष्ट्रिय परिचय पत्र वा सोको नम्बर अनिवार्य नहुने भएको छ।

गैरआवासीय नेपालीहरूले बैंक खाता खोल्ने क्रममा राष्ट्रिय परिचय पत्रको माग गरिएका कारण वित्तीय कारोबारमा समस्या भोगिरहेको गुनासो बढेपछि परराष्ट्र मन्त्रालयले यो विषयमा आवश्यक व्यवस्था मिलाउन राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग र नेपाल राष्ट्र बैंकलाई औपचारिक रूपमा अनुरोध गरेको छ।

मन्त्रालयले मन्त्रिपरिषद्को २०८१ जेठ २४ गतेको निर्णय तथा २०८१ असार १० गते राजपत्रमा प्रकाशित सूचनालाई आधार मान्दै उक्त अनुरोध गरेको हो।

मन्त्रालयले स्पष्ट पारेअनुसार, हालसम्म गैरआवासीय नागरिकता प्राप्त व्यक्ति वा गैरआवासीय नेपाली परिचय पत्र प्राप्त गरेका नेपाली मूलका विदेशी नागरिकका हकमा राष्ट्रिय परिचय पत्र जारी गर्ने कुनै कानुनी प्रवन्ध वा अभ्यास नै छैन, जसले गर्दा यो माग अव्यावहारिक हुन पुगेको छ।

यसका साथै, मन्त्रालयले नेपाल राष्ट्र बैंकको एकीकृत परिपत्रमा ग्राहक पहिचान र सम्पुष्टिका लागि नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचय पत्रमध्ये कुनै एक पेस गर्न सकिने व्यवस्था पहिले नै रहेको तथ्यलाई पनि स्मरण गराएको छ।

मन्त्रालयको यो पहलपछि अब गैरआवासीय नेपालीहरूले नागरिकताको प्रमाणपत्र वा अन्य कानुनी आधार पेस गरेर सहज रूपमा बैंकिङ सेवा लिन पाउने बाटो खुलेको छ।