काठमाडौं । नेकपा एमालेसँग भएको तीन बुँदे सहमतिप्रति असन्तुष्टि जनाएका नेता माधवकुमार नेपाललाई भेट्न पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ उनकै निवास पुगेका छन्।
शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग संयोजक प्रचण्डले गरेको तीन बुँदे सहमतिप्रति नेपाल पक्षले तीव्र असन्तुष्टि व्यक्त गर्दै आएको छ। विशेषगरी कोशी प्रदेश सरकारको नेतृत्व एमालेलाई दिने निर्णयप्रति नेता नेपालको मुख्य असहमति रहेको छ।
सोही विषयलाई लिएर असन्तुष्ट बनेका नेपालले आइतबार नयाँ बानेश्वरस्थित अर्याल होटलमा आफू निकट नेताहरूसँग आन्तरिक छलफलसमेत गरेका थिए। पार्टीभित्र विवाद बढ्ने संकेत देखिएपछि संयोजक प्रचण्ड सोमबार बिहान नेपाललाई फकाउन कोटेश्वरस्थित उनकै निवास पुगेका हुन्।


