+

आज गुरु पूर्णिमा र व्यास जयन्ती: गुरुप्रति सम्मान प्रकट भाव गरी मनाइँदै

१३ श्रावण २०८३, बुधबार ०६:४६

काठमाडौं। आषाढ शुक्ल पूर्णिमाका दिन आज देशभर गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गर्दै गुरु पूर्णिमा पर्व मनाइँदैछ।

तन्त्रशास्त्र र धर्मशास्त्रका अनुसार ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ प्रकाश हुन्छ, अर्थात् ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तित्वलाई नै गुरु मानिन्छ।

शास्त्रमा गुरुलाई ब्रह्मा, विष्णु र महेश्वरका रूपमा समेत तुलना गरिएको छ। आमाबाबु जस्तै गुरुलाई पनि देवता समान मानी ‘आचार्यदेवो भव’ भन्ने वैदिक परम्परा रहिआएको छ।

यसै पावन अवसरमा आज देशभरका विद्यालय, गुरुकुल, शिक्षालय तथा विभिन्न संघसंस्थाहरूले विशेष कार्यक्रमहरूको आयोजना गरी शिक्षा र दीक्षा दिने गुरुहरूका योगदानको स्मरण गर्दै श्रद्धाभाव व्यक्त गरिरहेका छन्।

यसै दिन वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गर्ने तथा १८ पुराण र १८ उपपुराणको रचना गर्ने महर्षि वेदव्यासको जन्मजयन्ती पनि मनाइन्छ।

व्यासले आफ्ना कृतिहरूमार्फत अरूको उपकार गर्नु नै धर्म हो र अरूलाई पीडा दिनु पाप हो भन्ने सार्वकालिक मानवतावादी सन्देश दिएका छन्। पाँचौं वेद मानिने प्रसिद्ध ग्रन्थ महाभारतको रचनासमेत वेदव्यासले नै गरेका थिए।

गुरु पूर्णिमाका अवसरमा नेपाल महर्षि वैदिक फाउन्डेसनले चम्पादेवीस्थित ब्रह्मानन्द सरस्वती ग्राममा विशेष कार्यक्रमको आयोजना गरेको छ। सो कार्यक्रममा गुरु पूर्णिमाको धार्मिक, आध्यात्मिक तथा सामाजिक महत्त्वका बारेमा विस्तृत चर्चा गरिने पूर्वमन्त्री एवं फाउन्डेसनका अध्यक्ष दीपकप्रकाश बास्कोटाले जानकारी दिएका छन्।