काठमाडौँ । प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले निर्वाचन आयोग कुनै पनि शक्तिको दबाब वा सत्ताको छायामा नपर्ने बताएका छन् ।
बुधबार सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिमा सांसदहरूका प्रश्नको जवाफ दिँदै कार्कीले आयोगले राजनीतिक दलहरूबिच निष्पक्ष ‘रेफ्री’को भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए ।
‘निर्वाचन आयोगले राजनीतिक दलहरूबिच रेफ्रीको भूमिका निर्वाह गर्छ, यसमा कसैले संशय व्यक्त नगर्नुस्,’ कार्कीले भने, ‘आफ्नो साधन, स्रोत र शक्तिले भ्याएसम्म म पूर्ण निष्पक्षताका साथ रेफ्रीको भूमिका निभाउनेछु ।’
आयोग सरकारको नियन्त्रणमा रहने हो कि भन्ने सांसदहरूको जिज्ञासामा कार्कीले भने, ‘यदि स्वतन्त्र र निष्पक्ष रूपमा काम गर्न सकिएन भने यो पदमा बसिरहनुको कुनै औचित्य हुँदैन । मेरो काममा निष्पक्षता देखिएन भने फेरि पनि तपाईंहरूले औँला उठाउन सक्नुहुनेछ । म निष्पक्षतालाई १०० प्रतिशत पुर्याउने गरी काम गर्नेछु ।’
निर्वाचनमा हुने अवैध धन, बाहुबल र सरकारी संयन्त्रको दुरुपयोगलाई कडाइका साथ रोक्ने कार्कीले बताए । ‘निर्वाचन सम्बन्धी नियम र कानुनले यी कुराहरूलाई पूर्णतः बन्देज गरेको छ । यदि कसैले यस्तो प्रयोग गरेको पाइएमा हामी त्यसै छोड्ने छैनौँ,’ कार्कीले भने, ‘अब आइन्दा निर्वाचनमा यस्ता कुरा प्रयोग हुँदैनन् भन्ने विश्वास म दिलाउन चाहन्छु।’
उनले सरकारी स्रोत र शक्तिको दुरुपयोग रोक्न आयोगले विशेष ध्यान दिने उल्लेख गरे।


