काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले सुनसरीलगायतका जिल्लामा भएका घटनाप्रति चिन्ता प्रकट गर्दै शान्ति र सद्भावका लागि अपिल गरेका छन् ।
बुधबार विज्ञप्ति जारी गर्दै उपराष्ट्रपति यादवले नेपालको विविधताबिचको एकता, सहिष्णुता, पारस्परिक भाइचारा, मेलमिलाप, मैत्रीभाव र सामाजिक सद्भाव साझा सम्पत्ति भएको स्मरण गराएका छन् ।
उनले सबै नागरिकलाई संयम अपनाउन तथा मुठभेडबाट टाढा रहँदै जिम्मेवार बन्न सुझाव दिएका छन् । ‘सबै नागरिकलाई संयमता अपनाउन, आवेग, हिंसा वा मुठभेडबाट टाढा रहन र जिम्मेवार व्यवहार प्रदर्शन गर्न आग्रह गर्दछु’, उपराष्ट्रपतिले विज्ञप्तिमा भनेका छन्, ‘कुनै पनि समस्या समाधानको मार्ग शान्तिपूर्ण संवाद हो । आफ्ना माग र विचारहरू संयमित ढङ्गले प्रस्तुत गर्न सबै पक्ष थप जिम्मेवारीपूर्वक प्रस्तुत हुन अनुरोध छ ।’
स्थानीय प्रशासन, धार्मिक अगुवा तथा नागरिक समाजले आपसी समन्वय गरेर विश्वासको वातावरण निर्माण गर्न सम्बन्धित पक्षलाई उपराष्ट्रपति यादवको आग्रह छ ।


