No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

एसियाली पारा खेलकुदमा पदक जितेकी पलेशाको स्वागत

0

 

काठमाडौँ ।  चीनको हाङझाउमा हालै सम्पन्न चौथो एसियाली पारा खेलकुदमा कास्य पदक विजेता तेक्वान्दो खेलाडी पलेशा गोवद्र्र्धन आइतबार स्वदेश फर्केकी छन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टङ्कलाल घिसिङ, नेपाल पाराओलम्पिक कमिटीकी अध्यक्ष राधा घले, नेपाल तेक्वान्दो सङ्घका अध्यक्ष प्रकाशशमशेर राणा, महासचिव दीपराज गुरुङ, खेलाडी, प्रशिक्षक, परिवारजनलगायतले पलेशालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे । सोही अवसरमा प्रशिक्षक कविराज नेगी लामा र व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई पनि सम्मान गरिएको थियो ।

पलेशा केही दिनका लागि चीनकै साङ्घाइबाट नेपाल आएकी हुन् । पलेशा साङ्घाइस्थित तोङजी विश्वविद्यालयमा आर्किटेक्चर इन्जिनीयरिङको स्नातक तहमा अध्ययनरत छिन् । पलेशा नोभेम्बर ७ तारिखमा साङ्घाइ फर्किँदै छिन् ।

पलेशा साङ्घाइबाटै एसियाली पारा खेलकुदमा सहभागी हुन हाङझाउ गएकी थिइन् । कात्तिक ७ गते भएको महिला के– ४४ क्याटगोरीको ५७ केजीमुनि क्वाटरफाइनलमा पलेशाले चीनकी लिटिङ याङलाई पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेकी थिइन् । सेमिफाइनलमा काजाकिस्तानकी कमिल्यासँग पराजित भए पनि रिपेचेजमा वाइ पाएपछि पलेशाको कास्य पदक पक्का भएको थियो ।

पलेशाले जितेको पदक पारा एसियाली खेलकुदमै नेपालले जितेको पहिलो पदक हो । नेपालले पहिलो संस्करणदेखि नै एसियाली पारा खेलकुदमा सहभागिता जनाएपनि तेक्वान्दो भने चौथो संस्करणदेखि मात्र समावेश गरिएको हो ।

सदस्य–सचिव घिसिङले पलेशालाई ऐतिहासिक पदक दिलाएकोमा बधाई दिँदै उनीबाट राष्ट्रले अझ धेरै आशा गरेको बताए। उनले भने, “पलेशा सम्झावना बोकेकी खेलाडी हुन् । सफलताका लागि पलेशासँगै उनको सफलतामा प्रत्यक्ष, अप्रत्यक्ष सहयोग गर्ने सबैलाई पनि छ ।”

पलेशाको उपस्थितिमा उनका बुवा आमासँग कुराकानी गर्ने क्रममा सदस्य–सचिव घिसिङले भने, “पलेशाबाट हामी र राष्ट्रले अझ धेरै आशा गरेका छौँ । अहिले पदक जितेर पलेशाले खुड्किलो मात्र उक्लेको हो । चुचुरोमा पुग्न अझै बाँकी छ । पारा ओलम्पिकमा पदक जितेर अर्को इतिहास रच्न बाँकी नै छ । त्यसको तयारीका लागि राष्ट्रिय खेलकुद परिषद्ले कुनै कसर बाँकी राख्ने छैन ।”

पदक विजेता पलेशाले आफ्नो अनुभव सुनाउँदै भनिन्, “म पढ्न चाइना जाँदा पढाइ र तालिमलाईसँगै लाने सोचेको थिएँ । सोचेभन्दा गाह्रो भयो । यहाँ (नेपाल) हुँदा परिवार, गुरु सबैले सहयोग गर्नुहुन्थ्यो । त्यही भएर सजिलो पनि भएको थियो । त्यहाँ (चीन) सबै आफैले गर्नु पर्ने थियो, गाह्रै भएको थियो । तर, मैले हार मानिन । जसरी पनि पढाइसँगै तालिमको लागि पनि समय मिलाएँ । खेलका दिन नर्भस पनि थिए । किनकी धेरै समयपछि रिङमा खेल्न गएको थिए । तर, जसरी भए पनि जित्न पर्छ भन्नै चाहिँ थियो । किनकी एसियन पारा गेम्समा अहिलेसम्म नेपाले पदक जितेको थिएन ।”

पलेशाका पिता प्रदीपले छोरीले पदक जितेकोमा गर्वको अनुभूति भएको बताउँदै फरक क्षमता भएका आफ्नो सन्तानलाई समाजबाट लुकाउन नहुने धारणा व्यक्त गरे । ‘छोरीले पदक जितेकोमा गर्व लागेको छ । फरक क्षमता भएकाले पनि अवसर पाए केही गर्न सक्छन् । यो मेरो छोरीले मात्रै हैन खेलकुदका साथै अन्य क्षेत्रका फरक क्षमता भएकाले प्रमाणित गरिसकेको कुरा हो ।” उनले भने, “फरक क्षमता भएका सन्तानलाई पनि समाजसँग घुल्मिल गराउन जरुरी छ । त्यसो भयो भने मात्र उनीहरुको मनोबल वृद्धि हुन्छ । आज मेरो छोरीले सफलता हासिल गरिन् । भोलि अवसर पाए थुप्रै फरक क्षमता भएकाले राष्ट्रलाई योगदान दिन सक्छन् ।”

प्रशिक्षक लामाले एसियाली पारा खेलकुदमा नेपालका लागि पलेशाले पदक जितेकोमा खुसी व्यक्त गर्दै राष्ट्रिय खेलकुद परिषद्, नेपाल तेक्वान्दो सङ्घ, नेपाल पाराओलम्पिक कमिटीसँगै सम्बन्धित सबैलाई धन्यवाद दिए ।

प्रकाशित: १२ कार्तिक २०८०, आईतवार १६:२३

Leave a Reply