No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

कालीगण्डकीमा सयपत्रीकाे सामूहिक खेती

0

स्याङ्जा । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ स्थित बारीचौरमा सयपत्री फूलको सामूहिक खेती गरिएको छ। तीन वर्ष पहिले लालीगुराँस घरवास (होमस्टे)लाई फूलैफूलको होमस्टे बनाउने उद्देश्यले १५ स्थानीय मिलेर लगाएको सयपत्रीको फूलखेती चार रोपनी जमिनमा फैलिएको छ।

जिल्लामै ‘नमूना व्यावसायिक फूलखेती’ बनाउने योजनामा रहेका स्थानीयको फूलखेती कार्यक्रमलाई गाउँपालिकाले सहयोग गरेको छ।

नमूना बारीचौर व्यावसायिक फूलखेतीका अध्यक्ष घनबहादुर थापाले तीन वर्ष पहिले दसैँ तिहारको बीचमा पाँच हजार माला उत्पादन गरेर गाउँपालिकाको कृषि शाखालाई दिएको जानकारी दिए। पहिलो वर्ष पालिका आफैँको पूर्ण लगानी भएकाले करिब डेढ लाख बराबरको ड्रम र पाइप दिएको थियो।

‘यस वर्ष चार रोपनी जमिनमा तीन हजार पाँच सय बोट सयपत्री फूल लगाएका छौँ’, अध्यक्ष थापाले भने, ‘यस वर्ष हावापानी राम्रो भएकाले फूलको उत्पादन लोभलाग्दो छ, लाग्छ फूल बिक्न सक्यो भने राम्रो आम्दानी हुन्छ,’ उनले भने।

यस वर्षको फूलखेतीका लागि गाउँपालिकाले ५० प्रतिशत अनुदान दिएको छ। यस वर्ष पहिलो वर्षजस्तै फूल खेती राम्रो छ। करिब चार लाख आम्दानी हुने अनुमान गरिएको छ।

सयपत्री फूलखेतीलाई दिगो बनाउन सिँचाइको समस्या बाधक भएको उनले बताए। ‘गाउँपालिकाबाट प्राविधिक सहयोग उपलब्ध भए पनि सिँचाइको अभावमा व्यवसायलाई दिगो बनाउन सकिन्न कि भन्ने चिन्ता लागेको छ,’ अध्यक्ष थापाले भने, ‘गाउँपालिकाले अनुदानलगायतका प्राविधिक सहयोगलाई यथावत राखे व्यवसाय विस्तार गर्ने सोचमा छौँ।’

गाउँपालिकाका कृषि शाखा प्रमुख अनुप पौडेलले भने गाउँपालिकाको पूर्ण लगानी भएकाले बारीचौरमा उत्पादित माला बिक्री गरेर भएको आम्दानी पालिकाको राजस्व शाखामा जम्मा गरेको दाबी गरे।

उनले कालीगण्डकी फूलैफूलको पालिका बनाउने योजनाअनुरुप पालिकाभित्रका सात वडाका १६ कृषक तथा समूहलाई ५० प्रतिशत अनुदान उपलब्ध गराएको जानकारी दिए।

प्रकाशित: २० कार्तिक २०८०, सोमबार ०२:३४

Leave a Reply