No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

रामपुरमा व्यावसायिक कालिजपालन

0

पाल्पा । पाल्पाकाे रामपुर क्षेत्रमा नयाँ व्यवसायको रूपमा कालिजपालन थालनी भएको छ । रामपुर नगरपालिका–४ स्थित बरडाँडा आरुमकोटमा व्यवस्थित तरिकाले व्यवसाय सुरु गरिएको छ । चारैतिर व्यवस्थित तारजालीले घेरेको भिरालो जमिनमा कालिजपालन थालनी भएको हो ।

व्यवसायी लोकमाया रानाले कालिज पालन हेर्न विभिन्न ठाउँबाट मानिस आउने गरेको बताइन् । गत जेठमा उनका छोरा मनिम रानाले सो व्यवसाय सुरु गरेका थिए । ‘छोराको रहरले सुरु गरेको व्यवसाय अहिले मैले रेखदेख गरिरहेको छु, नयाँ व्यवसाय हुँदा धेरै रेखदेख गर्नुपर्ने रहेछ, अब बिक्री गर्न लायकको हुन थालेको छ’, लोकमायाले भनिन् ।

उनको फार्ममा हाल एक सय ५० कालिज छन् । गत जेठमा पोखराबाट पाँच सय चल्ला ल्याएर व्यवसाय सञ्चालन गरिएको उनले बताइन् । नयाँ व्यवसाय भएकाले चल्ला हुर्काउन समस्या परेको उनको भनाइ थियो । जङ्गलको बीचमा व्यवसाय भएकाले वन बिरालो, सर्प पसेर चल्ला झम्टने, मार्ने गरेको उनले बताइन् ।

एउटा चल्ला चार सय रुपैयाँमा खरिद गरेर पाल्न थालेकाे उनले बताइन् । करिब चार रोपनी जग्गा भाडामा लिए आफूसँगै एक जना हेरालु कामदार राखिएको लोकमायाले जानकारी दिइन् । पहिलो पटक भएकाले पाल्ने प्रविधिमा केही समस्या भए पनि अर्को पटक चल्ला राख्न धेरै ज्ञान सीप प्राप्त भएको उनको अनुभव छ ।

रामपुरलाई कालिजपालनमा चिनाउन, गाउँका जग्गा छाडेर शहर बजारमा जाने क्रम बढेकाले गाउँमै बसेर पनि केही गरियो भने आयआर्जन गर्न सकिने रहेछ भनेर यहाँ व्यावसायिक रूपमा कालिजपालन सुरु गरेको उनको भनाइ छ ।

करिब ३० लाख लगानीमा व्यवसाय सञ्चालन गरिएको छ । अहिले यस क्षेत्रमा कालिजको मूल्य भाले तीन हजार, पोथी दुई हजार पाँच सयमा बिक्री हुने गरेको छ ।

कालिजपालनमा तौरतरिका मिलेको खण्डमा प्रशस्त कमाइ गर्न सकिन्छ । कालिज विशेषत छदेखि आठ महिनामा बिक्रीका लागि योग्य हुन्छ । कलिलो तथा नरम घाँस घरमै खस्रो बनाएर पिसेको गहुँ, मकैको दाना कालिजको आहार हो ।

कालिजको मासुको माग पछिल्लो समय अत्यधिक मात्रामा बढ्दो छ । कालिजपालन व्यवसायमा पछिल्लो समय युवाको आकर्षण बढिरहेको देखिन्छ । अहिले बजारमा कालिजको माग बढ्दो छ । बजार मूल्य राम्रो हुन थालेपछि यसको व्यावसायिक पालनमा आकर्षण बढ्न थालेकाे हाे ।

प्रकाशित: १८ मंसिर २०८०, सोमबार ०२:४७

Leave a Reply