No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

राष्ट्रपति चुनावमा ट्रम्पको योग्यताबारे अमेरिकी सर्वोच्च अदालतले फैसला सुनाउने

0

अमेरिकी सर्वोच्च अदालतले डोनल्ड ट्रम्प राष्ट्रपति पदका लागि चुनाव लड्न पाउने–नपाउने विषयको एउटा ऐतिहासिक मुद्दामा सुनुवाइ गर्ने जनाएको छ । कोलराडोको अदालतले ट्रम्पलाई उक्त राज्यमा हुने निर्वाचनमा अयोग्य ठहर्याएपछि उनले त्यस विरुद्ध पुनरावेदन दिएका थिए। जसका आधारमा न्यायाधीशहरू मुद्दा अगाडी बढाउन सहमत भएका हुन् ।

उक्त मुद्दाको सुनुवाइ फेब्रुअरी महिनामा हुनेछ र आदेश देशव्यापी रूपमा कार्यान्वयन हुनेछ । कैयौँ राज्यमा ट्रम्पलाई चुनावका लागि अयोग्य ठहर गर्न माग गर्दै मुद्दाहरू दर्ता गरिएका छन् । जसमा तीन वर्षअघिको अमेरिकी संसद् रहेको क्यापिटल हिलमा भएको दङ्गाको घटनाका बेला उनी देशद्रोहमा संलग्न भएको आरोप लगाइएको छ ।

तर गृहयुद्धकालीन संवैधानिक संशोधनले कतै ट्रम्पलाई उम्मेदवार हुन अयोग्य ठहर्याउने त होइन भन्नेमा कानुनी जटिलता देखिन्छ । अमेरिकाको संविधानको १४औँ संशोधनले ‘देशद्रोह वा विद्रोहमा संलग्न’ जो कोहीलाई सङ्घीय पद धारण गर्न अयोग्य ठहराउँछ । तर ट्रम्पका वकिलले त्यो राष्ट्रपति भइसकेका व्यक्तिका हकमा लागु नहुने तर्क राखेका छन् ।

ट्रम्पले मेइन राज्यका निर्वाचन अधिकारीहरूले उनलाई चुनावबाट अलग्याउन गरेको निर्णयविरुद्ध समेत उजुरी दर्ता गरेका छन् । कोलराडोको उच्च अदालतमा गत महिना अमेरिकी इतिहासमा पहिलो पटक १४औँ संशोधनको प्रयोग गरेर राष्ट्रपति उम्मेदवारलाई चुनावका लागि अयोग्य ठहर्याइएको थियो ।

उक्त निर्णय मत विभाजनबाट भएको थियो पक्षमा चार र विपक्षमा तीन जना न्यायाधीश थिए । सर्वोच्च अदालतले उक्त व्यवस्थालाई कसरी व्याख्या गर्ने भनेर पहिलो पटक टुङ्गो लगाउनेछ।

प्रकाशित: २१ पुष २०८०, शनिबार ०८:२७

Leave a Reply