No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

जलकुम्भीले खोस्यो टरुवा तालको सौन्दर्य

0

त्रिवेणी । नवलपुरको कावासोतीस्थित टरुवा ताललाई ढपक्क जलकुम्भीले ढाकेको छ । पानीको सतह देखिनुपर्ने ताल जलकुम्भी झारले ढाकेर हरियो देखिन थालेको छ । यसबाट तालको सौन्दर्य नै गुमेको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती–७ र ८ मा फैलिएको सो तालको अस्तित्व नै जलकुम्भी झारले ढाकेर सङ्कटमा पर्न थालेको छ ।

कहिलेकाहीँ स्थानीयस्तरमा सरसफाइ गरे पनि बृहत् रुपमा तालको सफाइमा काम हुन नसकेको ताल छेउका स्थानीय तुलसी महतोले बताए । “स्थानीले कहिलेकाहीँ सफा गर्छन्, फेरि झार आउँछ, अलि राम्रोसँग सफा गर्ने हो भने ताल सुन्दर देखिने थियो,” उनले भने ।

करिब तीन दशमलव ५२ हेक्टर क्षेत्रफलमा फैलिएको टरुवा ताललाई झारले नढाकेको क्षेत्र निकै थोरै बाँकी छ । ताललाई जलकुम्भी झारले ढाकेर अस्तित्व नै सङ्कटमा परे पनि यसको सरसफाइ र संरक्षणमा कसैको ध्यान पुग्न सकेको छैन ।

तालको सफाइ गरेर पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सक्ने सम्भावना रहेको उनले बताए । तालको संरक्षणका लागि केही समयअघि योजना अघि बढेको भन्ने सुेने पनि खास काम नभएको उनले बताए । “पहिले एकपटक सफा गर्ने, ताललाई राम्रो बनाउने भनेर डोजरसमेत ल्याएर अलि अलि काम गरेथे, पछि के भयो, त्यतिकै छाडे, पूरा काम भएन, ताल उस्तै रह्यो,” स्थानीय महतोले भने ।

“टरुवा ताल सफा गरेर राम्रो बनाउन सके ताल हेर्न धेरै मानिस आउँथे वरपर व्यापार व्यवसाय बढ्ने थियो, स्थानीयसँगै सरकारलाई समेत आम्दानी हुने थियो,” स्थानीय केशकुमारी महतोले भने । ताललाई झारले ढाक्दै गएकाले यसको संरक्षणको पहल गर्नुपर्ने उनले बताए ।

पूर्व पश्चिम राजमार्गदेखि करिब एक किलोमिटरको दूरीमा रहेको टरुवा तालको सम्बन्ध कावासोती बजार विकाससँग समेत जोडिएको छ । कावासोती बजार विकासको प्रारम्भकालमा यहाँका बासिन्दाले पिउने र घरायसी प्रयोजनका लागि यसै तालको पानी प्रयोग गर्ने बताइएको छ ।

अन्य पानीको कुनै स्रोत नभएको र टरुवा ताल क्षेत्रमा पानीको अटुट मुहान रहेकाले सुरु सुरुमा सोही क्षेत्रबाट कावासोती बजार क्षेत्रमा पानीको आपूर्ति हुने गथ्र्यो । पछि केरुङले खोला, कोइलापनी क्षेत्रको मुहानबाट पानी ल्याउने योजना सञ्चालन भएपछि पानीका लागि तालसँग कावासोती बजारको निर्भरता हटेको हो । यस अर्थमा समेत महत्व बोकेको ताल हिजोआज आफैँ सङ्कटमा परेको छ ।

तालको संरक्षण गर्दै पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सके जिल्लाकै महत्वपूर्ण स्थलका रुपमा परिचित हुने नवलपुर पर्यटन समितिका अध्यक्ष फन्सराम महतोले बताए । उनले ताललाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने योजनाका साथ संरक्षणका लागि स्थानीय बासिन्दासँगै स्थानीय सरकार लाग्नुपर्छ भने । ताललाई जलकुम्भी झारले ढाकेपछि यसको सरसफाइका लागि वडास्तरबाट काम गर्ने योजना रहेको कावासोती–७, का वडाअध्यक्ष गोविन्दप्रसाद महतोले बताए ।

वडाले प्रधानमन्त्री रोजगार कार्यक्रममा सूचीकृत भएकालाई ताल सरसफाइमा खटाउने योजना बनाएको उनको भनाइ छ । ताल आफैँमा महत्वपूर्ण रहेकाले यसको संरक्षणसँगै पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न पहल भइरहेको उनको भनाइ छ ।

कावासोती नगरपालिकाले टरुवा तालको संरक्षण र यसलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न यस वर्ष  ५० लाख विनियोजन गरेको वडाअध्यक्ष महतोले जानकारी दिए । “टरुवा ताल संरक्षणका विषयमा छलफल र बहसहरू चलेका छन्, मुख्य कुरा बजेट आवश्यक पर्ने रहेछ, अहिले थोरै विनियोजन भएको छ, केही काम यस वर्ष होला,” अध्यक्ष महतोले भने ।

प्रकाशित: ५ माघ २०८०, शुक्रबार ०३:४८

Leave a Reply