No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

सभामुखसँग राष्ट्रसङ्घका उपमहासचिव नाकामित्सुको भेट

0

काठमाडौँ । सभामुख देवराज घिमिरेसँग नेपाल भ्रमणमा रहेकी संयुक्त राष्ट्रसङ्घका उपमहासचिव एवं निःशस्त्रीकरण मामिलासम्बन्धी राष्ट्रसङ्घीय उच्च प्रतिनिधि इजुमी नाकामित्सुले बिहीबार भेट गरेकी छन् ।

भेटका अवसरमा दुवैबीच हतियार निःशस्त्रीकरणमा राष्ट्रसङ्घ तथा नेपालले गरेका प्रयास, साना र हलुका हतियारसम्बन्धी कार्ययोजना, अन्तर्राष्ट्रिय सन्धि अनुमोदनलगायत विषयमा छलफल भएको थियो । सो अवसरमा सभामुख घिमिरेले निःशस्त्रीकरण मामिलामा राष्ट्रसङ्घले गरेका विश्वव्यापी प्रयासको सरहना गरे ।

“मलाई विश्वास छ कि एसिया–प्रशान्त क्षेत्रीय तयारी बैठकमा भएका छलफलले साना र हलुका हतियारसम्बन्धी कार्ययोजनासम्बन्धी चौथो समीक्षा सम्मेलनको सफलतामा ठूलो योगदान पुर्याउनेछ”, सभामुख घिमिरेले भने, “यस प्रक्रियामा रचनात्मक योगदान गर्न नेपाल तयार छ ।”

उनले सन् १९५५ डिसेम्बर १४ मा संयुक्त राष्ट्रसङ्घको सदस्य भएदेखि नै नेपालले संयुक्त राष्ट्रसङ्घसँगको साझेदारीलाई उच्च महत्व दिँदै आएको बताए । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको हालैको नेपाल भ्रमणले संयुक्त राष्ट्रसङ्घ र नेपाल दुवैले एकअर्कालाई उच्च महत्व दिएको उनको भनाइ छ ।

सभामुख घिमिरेले नेपाल बुद्ध जन्मिएको देश भएको उल्लेख गर्दै शान्तिपूर्ण समाधान, अन्य देशको आन्तरिक मामिलामा धम्की वा बल प्रयोग नगर्ने र हस्तक्षेप नगर्ने सिद्धान्तको समर्थन गर्ने बताए ।

उपमहासचिव नाकामित्सुले नेपालको संसद्ले विस्तृत आणविक परीक्षण प्रतिबन्ध सन्धि र आणविक हतियार निषेध सन्धि अनुमोदन गर्ने विश्वास व्यक्त गरिन् । जवाफमा सभामुख घिमिरेले सरकारसँगको समन्वयमा सन्धि अनुमोदनबारे संसद्ले गृहकार्य गर्ने जानकारी दिए ।

प्रकाशित: ११ माघ २०८०, बिहीबार ०९:०२

Leave a Reply