No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

साहित्यकार गुणराज पोखरेलको ‘बौहिनिया’

0

काठमाडौं । गुणराज पोखरेल नाटककारको परिचय लिएर साहित्य आकाशमा उदाएका छन् । साहित्य विधामा विरलै लेखिने र प्राविधिक मानिने नाटक विधामा कलम चलाउँदै पोखरेल साहित्य क्षेत्रमा प्रवेश गरेका हुन् ।

पोखरेलले लेखन तथा प्रकाशन गरेको नाट्य कृति ‘बौहिनिया’ को नेपाल प्रज्ञा प्रतिष्ठानमा लोकार्पण भएको छ । लोकार्पण कार्यक्रमका प्रमुख अतिथि रहेका प्रतिष्ठानका कुलपति भुपाल राई लगायतका अतिथिहरुले बौहिनियाको लोकार्पण गरेका छन् ।

लोकार्पण कार्यक्रममा बौहिनियाको चिरफार गर्दै वरिष्ठ नाटक निर्देशक एवं रङ्गकर्मी घिमिरे युवराजले पुस्तक पठनीय मात्र नभई मञ्चनीय समेत रहेको बताए । कार्यक्रममा घिमिरे युवराजले नाटक विधालाई उपेक्षा गरिएको र साहित्यकारहरुले नै नाटक पढ्ने र हेर्ने नगरेका दुःखेसो गरेका छन् ।

नेपालका कतिपय नाटक लेखकले त कहिल्यै अरुका नाटक नपढेका र नहेरेका पाइएको खुलासा गर्दै उनले बौहिनियाका लेखक पोखरेलले नाटकको प्राविधिक पक्षलाई पनि न्याय गरी जीवन्त पुस्तक पस्किएकोप्रति आभार प्रकट गरे ।

नाटक विधामै विद्यावारिधि गरेका समालोचक प्राडा अशोक थापाले बौहिनियाले नेपाली समाजको सकारात्मक पक्षलाई उत्खनन् गरेको बताएका छन् । ग्याब्रियल र म्यारी बिदेशी पात्रमार्फत नाटककारले मान्छेको प्रतिकुल मानसिक अवस्था र त्यसको समाधान खोजेका उनले खुलासा गरे ।

खासमा पूर्वीय सभ्यता र सस्कृतिको वकालत गरिएको बौहिनियाले वर्तमान विश्वको यथार्थ चित्र प्रस्तुत गरेको उनको भनाइ छ । त्यसैगरी अर्की समालोचक प्राध्यापक रजनी ढकालले मनोविज्ञानको विषयलाई महत्व दिएर नाटककारले समाजको चिरफार गरेका विचार व्यक्त गरिन् । समाजमा अनेकन विकृति विसङ्गती बढ्दै गरेको प्रति चिन्ता व्यक्त गर्दै ढकालले अरुको समस्या समाधान गर्ने हुटहुटी र पूर्वीय दर्शनको पक्षपोषण प्रति नाटककारको प्रसंसा गरिन् ।

नाटकले समाजलाई सकारात्मकता तर्फ लगेको भन्दै उनले ‘बौहिनिया’ नाम जस्तै रहस्यमय र रोचक रहेको बताएकी छन् । पुस्तक लोकार्पण कार्यक्रमका प्रमुख अतिथि रहेका नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईले विश्व एउटै समाज बनिसकेको बताए ।

सबै सभ्यताका आ–आफ्नै सौन्दर्य हुने भन्दै उनले बौहिनिया मार्फत पूर्वीय सभ्यतालाई उजागर गरिएको बिश्वास ब्यक्त गरे । आफू प्रज्ञा प्रतिष्ठानको कुलपति भएपछि पढ्ने लेख्ने फुर्सद नभएको भन्दै राईले औपचारिक कार्यक्रमको चटारोले प्राज्ञिक काम ओझेलमा पर्नसक्ने संकेत गरे ।

नाटक विधा मात्र नभई साहित्यका धेरै विधामा पाठक र लेखक घटेकाप्रति दुःख व्यक्त गर्दै कुलपति राईले नेपाली साहित्य क्षेत्रलाई माथि उठाउन सबैको सामूहिक पहलको आवश्यकता औंल्याएका छन् । उक्त अवसरमा पुस्तक बिक्रिबाट उठेको रकम तीनकुनेस्थित एक जेष्ठ नागरिक आश्रमलाई दान दिने लेखक गुणराज पोखरेलले उद्घोष गरेका छन् । ४ भाग रहेको नाटक बौहिनियामा ९८ पृष्ठ रहेका छन् । पुस्तकको मूल्य भने २ सय ८० रहेको छ ।

 

प्रकाशित: ८ चैत्र २०८०, बिहीबार १५:१२

Leave a Reply