No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

‘इन्द्रेणी पर्यटन’मार्फत् नेपाललाई विश्वमाझ चिनाउन सकिन्छ : मन्त्री चौधरी

0

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका लागि नेपालले अपनाएको समावेशी चरित्र विश्वमाझ पुर्याएर इन्द्रेणी पर्यटन भित्राउन लाग्नुपर्ने बताएकी छन् ।

नेपालमा पहिलोपटक आयोजना भएको इन्द्रेणी (रेन्बो) पर्यटन अन्तर्राष्ट्रिय सम्मेलनलाई शनिबार सम्बोधन गर्दै उनले प्रदेश र स्थानीय तहमा रहेका पर्यटकीय क्षेत्रमा पनि इन्द्रेणी पर्यटन आकर्षित गर्न सकिने बताइन् । पहिलो अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरेकोमा आयोजक एवं सहयोगीलाई धन्यवाद दिँदै मन्त्री चौधरीले इन्द्रेणी पर्यटन क्षेत्रबाट थाइल्याण्डको कुल गार्हस्थ्य उत्पादनमा २० प्रतिशत योगदान रहेको तथ्य प्रस्तुत गरिन् ।

लैङ्गिक समानता नीति २०७७ मै लागू भएको जनाउँदै मन्त्री चौधरीले नीति परिमार्जन गर्नका निम्ति छुट्टै निकाय तोकिएको उल्लेख गरिन् । उनले भनिन्, “लैङ्गिक समानता नीति २०७७ मा लागू भएको छ, पहिलो समलिङ्गी विवाह दर्ता भएको छ । विगतमा पनि यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका लागि लुम्बिनी र कोशी प्रदेशमा अभिमुखीकरण र सचेतनाका कार्यक्रम सञ्चालन भएका थिए, अब सातै प्रदेशमा सञ्चालन गर्ने तयारीमा छौँ ।”

नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा ‘मायाको पहिचान नेपाल’ले सम्मेलनको आयोजना गरेको हो । मन्त्री चौधरीले लैङ्गिक समानताका लागि कानुन पर्याप्त रहेको र अहिले कार्यान्वयनको क्रममा रहेको जानकारी दिइन् ।

नेपालमा पहिलोपटक गत मङ्सिरमा लमजुङको दोर्दी गाउँपालिका कार्यालयले माया गुरुङ र सुरेन्द्र पाण्डेलाई समलिङ्गी विवाह दर्ताको प्रमाणपत्र दिएको थियो । माया र सुरेन्द्रको पहिलो विवाह दर्ता भएसँगै सुप्रिता गुरुङ र दिप्ती श्रेष्ठलाई बर्दियाको बढैयाताल गाउँपालिकाले समलिङ्गी विवाह दर्ताको प्रमाणपत्र दिएको छ ।

सो अवसरमा सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाँलले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक पर्यटकका लागि नेपाल सुरक्षित रहेको बताए । समलिङ्गी विवाह दर्ता हुन थालेकोले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकका लागि नेपालमा सम्मानित वातावरण रहेको उनले उल्लेख गरे ।

मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिलबाबु पन्तले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक पर्यटकलाई स्वागत गर्न नेपाल तयार रहेको बताए ।

नेपालका लागि युरोपियन युनियनकी राजदूत भेरोनिक लोरेन्जोले विश्वका एक सय ४५ देशमा गरिएको अध्ययनमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकका लागि नेपालको अवस्था राम्रो रहेको बताइन् । “एक सय ४५ देशमा नेपालको अवस्था राम्रो र उत्साहप्रद देखिएको छ । अनुकरणीय छ । प्रगति राम्रो भएको छ”, उनले भनिन्, “समलिङ्गी विवाहलाई कानुनी मान्यता दिने नेपाल एसियामा दोस्रो देश बनेको छ ।”

पर्यटन सम्मेलनमा अमेरिका, न्यूजील्याण्ड, जर्मनीका पर्यटन व्यवसायीले कार्यपत्र प्रस्तुत गरेका थिए । भारतीय लेखक एवं म्याथोलोजिष्ट देवदत्त पटनायक र पारोमिताले यौनिकता तथा लैङ्गिकताबारे पुराना तथ्यहरू प्रस्तुत गरेका थिए ।

प्रकाशित: ८ बैशाख २०८१, शनिबार १३:२९

Leave a Reply