No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

गर्मीका कारण बङ्गलादेशमा विद्यालय पुनः बन्द

0

बङ्गलादेशको एक अदालतले गर्मीका कारण देशभरका विद्यालय बन्द गर्न आदेश दिएको छ । यसअघि अत्यधिक तापक्रमका बावजुद लाखौं बालबालिकालाई सोमबारदेखि विद्यालयमा उपस्थित भई नियमित कक्षा सञ्चालनको वातावरण बनाउन सरकारले आग्रह गरेको थियो ।

वैज्ञानिक अनुसन्धानले जलवायु परिवर्तनका कारण तातो हावा चल्दा देशभर शिक्षक, कर्मचारी र विद्याथीहरू बिरामी परेका वा मृत्यु भएका खबरहरूपछि विद्यालय बन्द गर्ने निर्णय गरिएको थियो ।

पछिल्लो एक हप्तामा राजधानी ढाकाको औसत तापक्रम ३० वर्षको औसत तापक्रमभन्दा ४–५ डिग्री सेल्सियस बढी रहेको छ ।

सरकारले अप्रिलको सुरुदेखि नै अत्यधिक गर्मीका कारण कम्तीमा सात जनाको मृत्यु भएको र बिहीबारसम्म राजधानीको अधिकतम तापक्रम ४० डिग्रीभन्दा माथि रहने अनुमान गरेको छ ।

उपमहान्यायाधिवक्ता शेख सैफुज्जमानले भने, ‘उच्च अदालतको दुई न्यायाधीशको संयुक्त इजलाशले ‘गर्मीका कारण सबै प्राथमिक र माध्यमिक विद्यालय र मदरसाहरू बन्द गर्ने’ आदेश जारी गरेको छ ।’

सैफुज्जमानका अनुसार वकिलहरूले गर्मीका कारण कैयौँ शिक्षकको मृत्यु भएको बताएपछि अदालतले उक्त आदेश जारी गरेको हो ।

अदालतले आगामी आइतबारसम्म अनुमानित तीन करोड २० लाख विद्यार्थीका लागि विद्यालय बन्द गर्न निर्देशन दिएको छ । गर्मी कायमै रहेपछि सरकारले अप्रिल २१ देखि एक हप्ताका लागि देशव्यापीरूपमा विद्यालय बन्द गर्ने निर्णय गरेको थियो ।

ढाकामा आइतबारदेखि कक्षा सुरु भएको थियो र चिन्तित आफन्तहरू आफ्ना छोराछोरीसँगै विद्यालयको गेटमा पुगेका थिए । बङ्गलादेशको मौसम विभागले बिहीबारसम्म तापक्रम नघट्ने जनाएको छ ।

मौसमविद् मोहम्मद अबुल कलाम मल्लिकले आइतबार एएफपीसँग कुरा गर्दै सन् १९४८ मा रेकर्ड सुरु भएयता बङ्गलादेशमा यति ठूलो गर्मी नदेखिएको बताए ।

बढ्दो तापक्रमले बङ्लादेशको लगभग तीन चौथाई भागलाई असर गरिरहेको छ । मल्लिकका अनुसार जलवायु परिवर्तन र तीव्र शहरीकरण, वन फँडानी, पानीका मुहान खुम्चिँदै जानु र वातानुकूलनको बढ्दो प्रयोगजस्ता मानवसिर्जित कारणहरू उष्ण वायुको वर्तमान् समस्याका लागि जिम्मेवार छन् ।

प्रकाशित: १७ बैशाख २०८१, सोमबार १५:४०

Leave a Reply