No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

प्रचण्ड गर्मीमा ‘गुइँठा’ बनाउँदै महोत्तरीका गृहिणी

0

महोत्तरी । दैनिकजसो ४२ डिग्री सेल्सियसको सेरोफेरोमा रहेको महोत्तरीको प्रचण्ड रापसँगैको तातो हावाका बीच गृहिणीहरू बर्खाका लागि ‘गुइँठा’ बनाउन व्यस्त छन् ।

मधेशमा खाना पकाउने इन्धनको जोहोमा गुइँठा बनाउने व्यस्तता बढेको हो । गोबरमा पराल वा साना झिक्रा हालेर डोलो गुइँठा र घरका पर्खालमा गोबर सुकाएर चपरी पारिन्छ । गाई, भैँसी पालेका किसानले आफ्नै गोठको गोबरमा र नपाल्नेले चरन क्षेत्र र बाटाघाटाका गोबर टिपेर घरमा ल्याई थुपारेर गुइँठा बनाउँछन् ।

जिल्लाका १५ स्थानीयतहमध्ये १० नगरपालिकामा पनि धेरैजसो ग्रामीण बस्ती नै रहेका हुँदा सबैजसो भेगमा अहिले गृहिणीको गुइँठा बनाउने काममा व्यस्तता बढेक हो ।

गुइँठा बनाउँदै गरेकी भङ्गाहा–३ सकरी बस्तीकी रामराजी सदा इन्धनको जोहो गर्नका लाग गुइँठा बनाएको बताउँछिन् । अहिले गुइँठा नबनाए बर्खामा समस्या हुने उनको भनाइ छ ।

दुई/तीन दिन लगाएर थुपारिएको गोबर अर्को दुई/तीन दिन लगाएर गुइँठा र चिपरी पाथ्ने गरिन्छ । सामान्यतया गोबरलाई चाक्लो पारेर पथारिनेलाई चिपरी र भित्रपट्टि पराल र मसिना झिक्रा हालेर लामो डोलो बनाइनेलाई गुइँठा वा गोरहा भनिन्छ ।

यसरी बनाइएका गुइँठा घाम राम्रो लाग्ने ठाउँमा चाङ लगाएर राखिन्छ । यस्तो चाङ एक महिना जति घामले सुकेपछि चिपरी र गुइँठा पानी नचुहिने, नभिज्ने ठाउँमा थाक बनाएर राखेपछि आवश्यकताअनुसार खाना पकाउन प्रयोग गरिन्छ ।

प्रकाशित: २० बैशाख २०८१, बिहीबार ०३:२७

Leave a Reply