No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

मूलपानी क्रिकेट मैदानको नयाँ डिजाइन मन्त्रालयमा प्रस्तुत

0

काठमाडौं । मूलपानी क्रिकेट मैदानको डिजाइन युवा तथा खेलकुद मन्त्रालयमा प्रस्तुत गरिएको छ । सोमबार युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, मन्त्रालयका सचिव सुमनराज अर्याल लगायतको उपस्थितिमा मूलपानी मैदानको डिजाइन र संरचनाकाबारेमा पुल्चोक इन्जिनियरिङ कलेजले डिजाइन प्रस्तुत गरेको हो । डिजाइन अनुसार हालको तल्लो मूलपानी मैदानलाई प्रमुख मैदानको रूपमा निर्माण गरिनेछ ।

जहाँ २० हजार ८ सय ७८ दर्शक क्षमता रहनेछ। यो स्टेडियमको मुख्य विशेषता भनेको मैदानमा जडान गरिने सब–एयर प्रविधि हुनेछ। उनीहरूका अनुसार पानी परेको दशदेखि बाह्र मिनेटभित्र खेल खेल्न मैदान तयार हुनेछ। डिजाइनमा तल्लो र माथील्लो मुलपानी मैदान दुवै रहेका छन।

स्टेडियममा तीन तल्लाको अन्डर ग्राउन्ड पार्किङ, पुरूष र महिलाको लागि तीन सय क्षमताको होस्टेल, पौडी पोखरी, सुविधा सम्पन्न ट्रेनिङ सेन्टर, फ्लड लाइट, साउन्ड सिस्टम, डिजिटल डिस्प्ले बोर्ड, ६ लेनको इन्डोर प्रशिक्षण हल, आउटडोर प्रशिक्षण स्थल लगायतका संरचना रहेका छन। हालको माथील्लो मूलपानी ग्राउन्ड प्रशिक्षण मैदानको रूपमा रहनेछ ।

खेलकुदको मेगा प्रोजेक्टको रूपमा रहेको मूलपानी क्रिकेट मैदानको आज प्रस्तुत गरिएको डिजाइन अनुसारको सुविधा सम्पन्न अत्याधुनिक स्टेडियम निर्माणको लागि ७ अर्ब ३४ करोड ७० लाखको बजेट लाग्ने अनुमान गरिएको छ । गत कात्तिक २३ गते राष्ट्रिय गौरवको आयोजनामा परेपछि राष्ट्रिय खेलकुद परिषदले निर्माणको लागि पुल्चोक इन्जिनियरिङ कलेजसँग सम्झौता गरेको थियो।

सोही अनुरूप कलेजले डिजाइन प्रस्तुत गरेको हो । युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले यो वर्ष नै यो मैदानको लागि ५० करोडदेखि १ अर्ब सम्मको बजेट निकासा हुने संभावना रहेको बताए । सदस्य सचिव टंकलाल घिसिङले यो प्रोजेक्टलाई मेगा प्रोजेक्टको रूपमा अगाडि बढाएको भन्दै आगामी बजेटमा यही प्रोजेक्टलाई प्राथमिकतामा राखिएको समेत जानकारी दिए। गत कात्तिक २३ गते सरकारले मूलपानी, चितवन र विराटनगरमा निर्माणाधीन रंगशालालाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरेको थियो।

प्रकाशित: २४ बैशाख २०८१, सोमबार १६:३८

Leave a Reply