No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

नख्खु–बुङमती सडक चैतसम्ममा सम्पन्न गर्न यातायातमन्त्री यादवको निर्देशन

0
काठमाडौं, माघ २४ गते । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले निर्माणाधीन नख्खुबाट भैँसेपाटी हुँदै बुङ्मतीसम्मको सडक चैतसम्ममा सम्पन्न गर्न निर्देशन दिएकी छन् । आज सडकको अवलोकन गर्न पुग्नुभएका मन्त्री यादवले निर्माणस्थल खाली भइसकेकाले सो अवधिमा सम्पन्न गर्न समस्या नरहेको बताइन् । विस्तारका क्रममा रहेको सो सडकमा केही ठाउँमा निर्माणस्थल खाली हुन नसकेकाले ५/६ वर्षसम्म काम नभएको उनले बताइन् । अहिले निर्माणस्थल खाली गरिसकिएकाले चैतसम्ममा सम्पन्न हुने उनको भनाइ छ । उनले भनिन्, “भिआइपी एरिया पनि भएकाले सबै सक्रिय भएर लाग्दा समयमा काम सकिनेछ ।” विगतका वर्षहरुमा निर्माण सुस्त भए पनि आफूले मन्त्रालय सम्हालेपछि त्यहाँ रहेका अवरोध हटाएर निर्माणको वातावरण बनाउन लागेको मन्त्री यादवले बताइन् । उनका अनुसार केही समय पहिलेसम्म सडकमा नै घर, पर्खाल लगायतका संरचना थियो । त्यो हटाउनेसँगै सडकमा रहेका पाइप, ढल हटाइसकिएकाले अहिले काम द्रुत रहेको उनले बताइन् । सडकमा अरू अवरोध नभएको र यहाँको आयोजना र निर्माण व्यवसायी काम सकाउन प्रतिबद्ध रहेको उनले बताइन् । उनले भनिन्, “अब सडकमा कालोपत्र मात्रै बाँकी भएकाले दुई महिनामा काम सकिन्छ ।” सो सडक दुई ठेक्कामा निर्माण भइरहेकामा दुवै ठेक्कामा निर्माण अघि बढिरहेको छ । दुवै ठेक्कामा संलग्न निर्माण कम्पनीहरुलाई सडक चैतसम्म सक्न निर्देशन दिइएको छ । केही महिनादेखि मन्त्रालय टोली निर्माणाधीन सडकको अनुमगनका लागि खटिएको र ठाउँठाउँमा पुगेर त्यहाँको सडकको अवस्थाका बारेमा जानकारी लिइरहेको उनले बताइन् । कुनै पनि सडकमा सम्बन्धित प्रदेश र स्थानीय तहले पनि अनुगमन गर्नुपर्नेमा उनको जोड छ । उनले भनिन्, “कुनै पनि सडक हेरेर किन बनेन वा सडक बनाउँदाको समस्या बुझ्नुपर्छ, समन्वय हुँदा निर्माणमा संलग्नको पनि मनोबल बढ्छ ।” निर्माणाधीन सडकमा पर्याप्त सङ्ख्यामा जनशक्ति र सामग्री भए समयमा सम्पन्न हुनसक्ने मन्त्री यादवले बताइन् । निर्माण कम्पनीले आवश्यकताअनुसार रातको समयमा पनि काम गराउन सक्छ । मन्त्री यादवसँगै भौतिक पूर्वाधार मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठ, सडक विभागका महानिर्देशक शिवहरि सापकोटा लगायतका कर्मचारी सहभागी थिए । पाँच किलोमिटर लम्बाइको सो सडक निर्माणको काम विसं २०७३ देखि सुरु भएको थियो । सडकको चौडाइ २० मिटर हुने र सडकमा वर्षाको पानी जाने पाइप, पैदलयात्रु मार्ग लगायतका संरचना निर्माण गरिने ठेक्का सम्झौतामा उल्लेख थियो । आशिष बिरुवा सिएम जेभीले तीन दशमलव पाँच र पप्पु महालक्ष्मी वर्ल्डवाइड जेभीले एक दशमलव पाँच किमी सडक निर्माण गर्ने गरी सम्झौता भएको थियो । पहिलो ठेक्काको सम्झौता विसं २०७३ असारमा र दोस्रो ठेक्का सम्झौता विसंं २०७४ साउनमा भएको थियो । अहिलेसम्म दुवै ठेक्काको भौतिक प्रगति ७०/७० प्रतिशत पुगेको काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ ।  
प्रकाशित: २४ माघ २०७८, सोमबार १०:४५

Leave a Reply