No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

समुद्रमा तैरिरहने हङकङको चर्चित जम्बो रेस्टुराँ समुद्रमा डुब्यो

0

हङ्कङको तैरिरहने चर्चित रेस्टुराँ झन्डै ५० वर्षदेखि सञ्चालन भइरहेको ठाउँबाट सारिएको केही दिनपछि डुबेको छ । अर्को ठाउँतिर लैजाँदै गर्दा जम्बो नामक रेस्टुराँ साउथ चाइना सीमा डुबेको त्यसको माउ कम्पनीले जनाएको छ ।

एबर्डीन रेस्टुराँ इन्टरप्राइजेजले घटनाबाट एकदमै दुःखी भएको बताएको छ। कोभिड महामारीले असर पारेपछि सन् २०२० को मार्चमा उक्त रेष्टुराँ बन्द भएको थियो । उक्त रेस्टुराँमा ब्रिटिस महारानी, टम क्रुज, रिचर्ड ब्रान्सनसहित ३० लाखभन्दा बढी अतिथिले परम्परागत चिनियाँ खानाको स्वाद लिएको विश्वास गरिएको छ ।

त्यहाँ बन्ड चलचित्रसहित थुप्रै फिल्मको छायाङ्कन पनि गरिएको छ। तर खाना बन्द गरिएपछि कोभिड महामारीसँगै व्यापारमा ठूलो असर परेको थियो । जम्बो रेस्टुराँ हङ्कङको चिनारीको रूपमा लिने गरिन्थ्यो।

यद्यपि सन् २०१३ देखि नै त्यो नाफामा थिएन । सञ्चालकहरूका अनुसार पहिलाको स्थानबाट रेस्टुराँलाई अन्त लैजान थाल्नुअघि मरिन इन्जिनियरहरूबाट परीक्षण गर्न लगाइएको थियो र यात्राका लागि आवश्यक सबै अनुमति लिइसकिएको थियो । नयाँ सञ्चालक पाउनुअघि तैरिरहने उक्त रेस्टुराँ नाम नखुलाइएको स्थानमा राखिराख्ने योजना थियो ।

तर प्यारासेल टापुनजिक प्रतिकूल अवस्थामा परेको रेस्टुराँमा पानी पस्न थाल्यो र आइतबार डुब्न पुग्यो।रेस्टुराँ डुबेको ठाउँमा पानीको गहिराइ एकहजार मिटरभन्दा बढी छ र उद्धार कार्य गर्न एकदमै कठिन रहेको एबर्डीन रेस्टुराँ इन्टरप्राइजेजले भनेको छ । सञ्चालकले गत महिना बताएअनुसार सन् २०१३ देखि नै रेस्टुराँले मुनाफा आर्जन गर्न सकिरहेको थिएन र ठूलो मात्रामा घाटा बेहोर्नु परेको थियो ।

प्रकाशित: ७ असार २०७९, मंगलवार ०३:४६

Leave a Reply