No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

चुनाव गठबन्धनले नै जित्ने होः प्रधानमन्त्री

0

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी मंसीर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा आफ्नो पार्टीलाई सबैभन्दा ठूलो पार्टी बनाउने काममा ध्यान दिन सिंगो पार्टी पंक्तिलाई आह्वान गरेका छन् ।

कांग्रेसबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षण दिन ललितपुरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न र नेपाली कांग्रेसलाई सबैभन्दा ठूलो पार्टी बनाउन पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरुको भूमिका महत्वपूर्ण हुने बताए ।

उनले निर्वाचनमा पार्टीको पक्षमा जनताको समर्थन जुटाउने काममा लाग्न पनि पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए । लोकतन्त्रमा जनताभन्दा ठूलो अरु कोही नहुने उल्लेख गर्दै प्रधानमन्त्री देउवाले आगामी निर्वाचनमा पनि जनताको साथ र समर्थन लिएर आफ्नो पार्टी विजयी हुने विश्वास व्यक्त गरे ।

उनले सत्तारुढ गठबन्धन मिलेर निर्वाचनमा गएकाले स्थानीय तह निर्वाचनमा पार्टीले सफलता हात परेको स्पष्ट पार्दै प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा पनि सत्तारुढ गठबन्धनले मिलेर चुनाव लड्ने तयारी गरिरहेको बताए ।

प्रधानमन्त्री देउवाले आगामी निर्वाचनमा पनि सफलता हात पार्नका लागि जनताको मन जित्नुपर्ने र त्यसका लागि स्थानीय तहका पार्टीका जनप्रतिनिधिहरुको भूमिका महत्वपूर्ण हुने बताए ।

उनले भने, ‘२०७४ सालमा हामी एक्लै चुनाव लडनुपर्ने स्थिति थियो । विपक्षी गठबन्धन बनेपछि हामीले पराजय हुनुपर्यो । यसपाली हामी गठबन्धन सरकारमा छौं । गठबन्धनकै कारण स्थानीय तह निर्वाचनमा सफलता हासिल गरेका हौं । फेरि गठबन्धन गरेर जानका लागि हामीले छलफल गरिरहेका छौं । स्थानीय तहका जनप्रतिनिधिहरुले जनताको मन जित्ने काम गर्नु पर्दछ । जुन ठाउँमा जनताका मन जितिएको छ, कामहरु भएका छन् । त्यहाँ एक्लै चुनाव लड्दा पनि सफलता पाएका छौं । त्यसैले आउँदा दिनहरुमा पनि सार्वभौमसत्ता सम्पन्न जनताको हितमा अब आउने चुनावमा जनताको समर्थन प्राप्त गर्नलाई पार्टीका सबै साथीहरुले त्यस काममा लागेर जनताको दिल जित्यौं भने हामीले अवश्य पनि चुनाव जित्नेछौं । जनताभन्दा ठूलो कोही छैनन् । उनीहरुको साथ, समर्थन लिनु आवश्यक छ ।’

प्रधानमन्त्री देउवाले कोभिड संकट समाधान गराउन, संवैधानिक मूल्यमान्यता अनुसार मुलुकलाई अघि बढाउन, एमसीसीबारे भएको भ्रम चिर्न आफू नेतृत्वको सरकारले महत्वपूर्ण सफलता हासिल गरेको दाबी समेत गरे ।

कार्यक्रममा काँग्रेस उपसभापति धनराज गुरुङले पार्टीलाई आगामी आम निर्वाचनमा बहुमत नजिकको पार्टी हुने गरी विजयी गराउने काममा पार्टीबाट निर्वाचन भएका स्थानीय तहका जनप्रतिनिधिहरुको भूमिका महत्वपूर्ण हुने बताएका थिए ।

प्रकाशित: ३० श्रावण २०७९, सोमबार ०८:१२

Leave a Reply