No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

युक्रेनसँग लड्न जगेडा सैनिकलाई बोलाउने पुटिनको निर्णयपछि रुसीहरू देशबाट बाहिरिँदै

0

युक्रेन युद्धका लागि जगेडा सैनिकहरूलाई बोलाउने क्रेमलिनको निर्णयबाट बच्न रुसी पुरुषहरूले देश छाड्ने प्रयास गर्दा रुसको सिमानामा लामा लामहरू देखा परेका छन् । राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार आंशिक सैन्य परिचालनको घोषणा गरेका थिए। उक्त निर्णयसँगै थप तीन लाख मानिसले युद्धमा सामेल हुनुपर्ने देखिएको छ ।

यद्यपि क्रेमलिनले लडाकु उमेरका पुरुषहरू भागेको भन्ने विवरणहरू अतिरञ्जित भएको बताएको छ । तर जर्जियासँगको सीमामा युद्धबाट भाग्न खोज्ने पुरुषसहितका सवारीसाधनका कैयौँ किलोमिटर लामा ताँती बनेका छन् । नाम खुलाउन नचाहने एक व्यक्तिले राष्ट्रपति पुटिनको घोषणालगत्तै आफू आफ्नो राहदानी समातेर सीमातर्फ हिँडेको बताए ।

उनी पनि युद्धका लागि पठाउन सकिने सम्भावित समूहमा परेका थिए । केही प्रत्यक्षदर्शीले अपर लार्स जाँचचौकीमा कारहरूको लाइन करिब पाँच किलोमिटरसम्म लामो भएको अनुमान गरेका छन् । त्यस्तै अर्को समूहले सीमा पार गर्न सात घण्टा लागेको बताएको छ ।

उक्त स्थानको भिडियोमा केही चालकले आफ्नो कार वा ट्रकलाई अस्थायी रूपमा रोकिएको ट्राफिकमा छाडेको देखाइएको छ । जर्जिया रुसीहरूले भिसा आवेदन नदिई प्रवेश गर्न मिल्ने केही छिमेकी देशमध्ये एक हो ।

त्यस्तै रुसीहरूलाई यात्रा गर्न भिसा आवश्यक पर्ने अर्को छिमेकी देश फिनल्यान्डको रुससँग एक हजार तीन सय किलोमिटर सीमा जोडिएको छ । उक्त देशमा प्रवेश गर्ने ट्राफिकमा पनि रातभरि वृद्धि भएको बताइएको छ। तर त्यो व्यवस्थित स्तरमा रहेको जनाइएको छ।

प्रकाशित: ७ आश्विन २०७९, शुक्रबार ०४:१४

Leave a Reply