No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

युक्रेनी भूभाग रुसमा गाभ्ने उद्देश्यले रुसी सैनिकद्वारा मत संकलन सुरु

0

रुसले आफ्नो नियन्त्रणमा लिएका युक्रेनी भूभागमा सुरु गरेको जनमतसङ्ग्रहका लागि मत सङ्कलन गर्न सशस्त्र सैनिकहरू घरघरमा जान थालेको युक्रेनी नागरिकहरूले बताएका छन् ।

दक्षिणी खेअर्सनमा रुसी सुरक्षाकर्मीहरूले मतपेटिका लिएर सहरको मध्यभागमा मत सङ्कलन गर्न थालेका छन् । रुसी सरकारी सञ्चारमाध्यमहरूका अनुसार घरदैलो मतदान सुरक्षाका कारण गरिएको हो ।

व्यक्तिगत मतदान खासगरी सेप्टेम्बर २७ मा हुने रुसी समाचारसंस्था तासले जनाएको छ । अन्य दिनहरूमा समुदाय र घरदैलो कार्यक्रमका रूपमा मतदान सञ्चालन हुनेछ ।

मेलिटोपोलमा रहेकी एक महिलाले बताएअनुसार दुई रुसी सैनिकसँग आएर दुई स्थानीय सहयोगीहरूले उनका अभिभावकलाई उनीहरूको घरमा आएर मतपत्र दिएर हस्ताक्षर गर्न भनेका थिए ।

ती महिलाका अनुसार प्रत्येक व्यक्तिका लागि छुट्टाछुट्टै नभईकन पूरै घरधुरीका लागि एउटा मतपत्र राखिएको छ । मतदान गराउन सशस्त्र सैनिक परिचालन गरिनुले चुनाव स्वतन्त्र र निष्पक्ष हुने भन्ने मस्कोको दाबीसँग विरोधाभास देखाउँछ ।

विज्ञहरूका भनाइमा पाँच दिनका लागि तय गरिएको स्वघोषित जनमतसङ्ग्रहले रुसलाई अवैधानिक तरिकाले चारवटा अधीनस्थ क्षेत्र वा केही भाग नियन्त्रणमा रहेका युक्रेनी भूभागलाई आफ्नो दाबी गर्ने बाटो दिनेछ।

यसरी गाभ्ने कामले अन्तर्राष्ट्रिय मान्यता पाउनेछैन तर त्यसले गर्दा रुसले आफ्नो भूभागमा पश्चिमा देशहरूले युक्रेनलाई दिएका अस्त्र प्रयोग गरेर आक्रमण भएको दाबी गर्ने अवस्था सिर्जना हुनसक्छ । त्यसले युद्धलाई थप चर्काउनेछ।

प्रकाशित: ८ आश्विन २०७९, शनिबार ०७:१५

Leave a Reply