No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

कृषि औजार कारखाना संचालनका लागि अर्थ मन्त्रालय र राष्ट्रिय आविष्कार केन्द्रबीच सम्झौता

0

काठमाडौँ । सरकारले वीरगञ्जस्थित कृषि औजार कारखाना राष्ट्रिय आविष्कार केन्द्रलाई पुनः सञ्चालनमा ल्याउने जिम्मा दिएको छ । कारखाना पुनः सञ्चालनका लागि मङ्गलबार अर्थ मन्त्रालय र आविष्कार केन्द्रबीच सम्झौतामा हस्ताक्षर भएको हो ।

अर्थमन्त्री जनार्दन शर्माको उपस्थितिमा मन्त्रालयका तर्फबाट सहसचिव रमेश केसी र आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले सम्झौतापत्रमा हस्ताक्षर गरे । गत भदौ ३१ गतेको मन्त्रिपरिषद् बैठकले करिब तीन दशकदेखि बन्द रहेको कृषि औजार कारखाना आविष्कार केन्द्रलाई सञ्चालन गर्न दिने निर्णय गरेको थियो ।

सोही निर्णयअनुसार आविष्कार केन्द्रसँग अर्थ मन्त्रालयले सञ्चालन सम्झौता गरेको हो । अर्थमन्त्री शर्माले आर्थिक वर्ष २०७९/८० को बजेटमा बन्द तथा रुग्ण रहेका कारखाना पुनः सञ्चालन गरिने घोषणाअनुसार नै आविष्कार केन्द्रलाई कृषि औजार कारखाना सञ्चालन गर्ने जिम्मा दिइएको बताए । आविष्कार केन्द्रका अध्यक्ष पुनले आफूले कहिल्यै नसोचेको जिम्मेवारी पाउँदा चिट्ठा परेको जस्तो महसुस भएको बताए । उनले सम्झौता राम्रो कामका लागि भएको समेत बताए ।

साथै आफूहरूको ज्ञान र विवेकले भ्याएसम्म राम्रो गरेर देखाउने प्रतिबद्धता पनि जनाए । सम्झौताअनुसार आविष्कार केन्द्रले कारखाना सञ्चालन जिम्मा १० वर्षका लागि पाएको छ । योजना निर्माण, जनशक्ति विकास, कृषि औजार उत्पादन र बजारीकरणलगायतका काम आविष्कार केन्द्रले गर्नेछ ।

कारखानाको मर्मतसम्भार र औजार थप गर्न तथा सञ्चालनका लागि आवश्यक बजेटको व्यवस्था पहिलोपटक सरकारले गर्नेछ । आविष्कार केन्द्रले अनुसन्धान केन्द्र स्थापना गरी अनुसन्धान र तालिमसमेत सञ्चालन गरी जनशक्ति उत्पादन एवम् आधुनिक कृषि औजार उत्पादन तथा बिक्री गर्न पाउनेछ । औजार बिक्रीबाट करपश्चातको रकमको ५० प्रतिशत ‘राष्ट्रिय आविष्कार केन्द्र कोष’ खडा गरी त्यहाँ रहनेछ । बाँकी ५० प्रतिशत वार्षिक रूपमा नेपाल सरकारको राजश्व खातामा जम्मा गर्नुपर्नेछ ।

 

प्रकाशित: ११ आश्विन २०७९, मंगलवार १९:५१

Leave a Reply