No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

आमनिर्वाचन र वैकल्पिक पार्टी

0

ठाकुर पोखरेल ।

”कांग्रेस,एमाले,माओवादी,एकिकृत समाजवादी सहितका नेतृत्व- पटक पटक दोहोरिएर चुनाव जित्ने तर जनहितको पक्षमा भन्दा निजी स्वार्थमा केन्द्रित हुदै आएका र उमेरले पनि डाँडो काटेका नेतृत्वहरु लाई फेरि पनि सत्ताको दुरुपयोग गर्ने छुट छैन”
यथास्थितिका दललाई अर्को एक पटक मौका-:
‘ठूला पार्टीलाई नेपाली जनताले अर्को एउटा मौका दिएका छन् मौकाको दुरुपयोग नगर्नु होला,जनताको पक्षमा काम गर्न र आजअघि सत्तामा बसेर गरेका गलत क्रियाकलाप बाट सच्चिने मौका पनि अझै एक पटक हो । अन्यथा अहिले मधुरो रुपमा देशैभर बाट बैकल्पिक राजनीतिक माहोलको रुपमा उदाउँदै बजेको घण्टी, स्वतन्त्र हैसियत बाट स्वतस्फूर्त उम्मेदवारी दिएका युवाहरुका चुनाव संङ्केत चिन्ह लौरो,खुकुरी,सिरिङ्ज लगायत दर्जनौं चुनौतीले अर्को पाँच बर्षपछि देशभर बाट पुराना पुरातनवादी र यथास्थितिवादी फेलियरहरुको राजनीतिक मैदान समेत खारेज गर्ने कार्य रोकिनेवाला छैन। कांग्रेस, एमाले, माओवादी र एकिकृत समाजवादीका पटक पटक चुनाव जित्ने तर जनहितको पक्षमा भन्दा निजी स्वार्थमा केन्द्रित उमेरले पनि डाँडो काटेका नेतृत्वहरु लाई फेरि पनि सत्ताको दुरुपयोग गर्ने छुट छैन विगत ३३ वर्ष देखि राष्ट्रिय राजनीति लाई ”धमिल्याएर माछा मार्दै आएका” पुराना दलका शीर्ष नेतृत्वले फेरि पनि चुनाव जितेका छन् वास्तवमा यी पुराना विरासत बोकेका पुस्ताको राजनीति गर्ने नैतिक धरातल भास्सिसकेको हो, सर्वसाधारण नागरिकहरु बाट तिरस्कृत भैसकेका थिए। विडम्बना विकल्पमा खबर्दारी गर्ने नयाँ राजनीतिक सुजबुजको पार्टी थिएन पनि ।
बैकल्पिक राजनीति र राष्ट्रिय स्वतन्त्र पार्टीको उदय-:
अब पनि उही पुरानै मूखिया शैलीबाटै राज्य सत्ता चलाउँने हो भने तिमीहरुको टाउकोमा घण्टी सहित लौरो, खुकुरी,सिरिङ्ज लगायत स्वतन्त्र हैसियतका हजारौं युवाहरुको आक्रोश खनिने छ। एक दशक अघि देखि नेपाली राष्ट्रिय राजनीतिमा बैकल्पिक राजनीति बारे धेरै नै हल्लाखल्ला चलेको थियो, केहीले बैकल्पिक बिचार सहितको दल दर्ता गरे, एक दुई चुनाव सामना गरेका पनि थिए तर पुराना यथास्थितिवादी काङ्ग्रेस र कम्युनिष्ट भनिने का सामु ति बैकल्पिक विरुवा हुर्कन सकेन कतिपय बैकल्पिक नेतृत्व गर्ने नेतृत्व नै पुरातनवादी कित्ता तिर भासिए भने कोही आफैले ”रातो स्टिकर टाँसेको घर” तिरस्कृत गरेको घरमा श्ररण लिन पुगे पनि ति गद्दार नेतृत्व सँगै पछि लाग्ने खासै कोही देखिएनन्। बैकल्पिक बिचार राजनीतिमा सक्रिय नेता तथा कार्यकर्ताहरु बैकल्पिक बिचार सहितको राजनीतिक अभियान्ता हरु अझै हजारौं नेता तथा कार्यकर्ताहरु अहिले पनि आफ्नै महत्व र अडानमा छन्, हामी पनि अझै बैकल्पिक राजनीति बारे बहस छलफलमा सहभागी भइरहेका छौं।
निर्वाचन समीक्षा -:
यस निर्वाचनमा धेरै नै बिबादित पटक पटक दोहोरिएका दर्जनौं भ्रष्ट दलाल नेताहरु लाई जनताले हराए पनि ठूला दलका मुल नेतृत्व भने शक्ति,पैसा र गठबन्धन-हलबन्धन बाट फेरि पनि चुनाव जितेका छन्। यस निर्वाचन सुरु हुनुभन्दा पहिले देखि नै युवा तथा सचेत नागरिक समाजले ‘Not Again’ को अभियान तार्गेट नै पटके र चटके हराउने योजना हो, केही हदसम्म सफल भए पनि पूर्ण रूपले सफल भएन। निर्वाचन हुनु भन्दा केही महिना अघि राजनीतिक दल दर्ता भएको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ जसको चुनाव चिन्ह ‘घण्ट’ ले आमनिर्वाचनमा राम्रो मत परिणाम सहित पुराना दललाई करेक्सन गर्ने सामर्थ्य सहित नतिजा प्राप्त गरेको पाइन्छ, हामी धेरैको सदासयता पनि सकरात्मक भयो।
”हरेक पार्टीमा नयाँ नेतृत्व, विचार र कार्यदिशा जन्मनु र हुर्कन दिनु पार्टी गत विकास मात्र होइन देश, राष्ट्र, राष्ट्रियता बलियो हुनु पनि हो”
राजनीतिमा व्यावहारिकता र राष्ट्रिय अन्तराष्ट्रिय परिस्थिति बुझेका पाका नेतृत्व होस जहाँ युवाहरूको जोसको समन्वय भए मात्र सार्थक तथा फलदायी नेतृत्व जन्मिन सक्छ। कांग्रेसमा नेतृत्वको खडेरी देखिएको दुरावस्थालाई चिर्न गगन, विश्वप्रकाश जस्ता युवाहरूलाई पार्टी नेतृत्वमा पुर्‍याउन सक्नु पर्छ। ०६४ देखिका निर्वाचनमा कांग्रेस हारेको कारण जनाधार गुमाएर होइन, सही नेतृत्वको अभाव भएकाले हो। काङ्ग्रेस पार्टी नेतृत्व सभापति लाई पटक पटक एकै ठाउँमा देखेर, हेरेर जनताले भोट हाल्न इच्छुक देखिदैननन्। त्यसैले ०७४ को निर्वाचनमा समेत कांग्रेसले एमालेकै हाराहारीमा लोकमत पाउँदा पनि निकै थोरै सिटमा मात्र विजयी भयो । गतिशील र समर्पित नेतृत्व हुन्थ्यो भने कांग्रेसलाई सामान्य बहुमत हासिल गर्न गाह्रो हुदैनथ्यो। अब यस पटक २०७९ को आमनिर्वाचनमा गगन थापा र विश्वप्रकाश शर्मा दुबैलाई सम्बन्धित क्षेत्रका नागरिकहरुले अत्यधिक मतले विजयी गराएका हुन् यसको सही विष्लेषण गरेर नेतृत्वको बागडोर नयाँ पुस्ता तिर लैजान सक्दा समग्र राष्ट्रको पनि हित हुने थियो भन्ने विश्वास सर्बत्र बढेको छ।
माओवादी जनयुद्ध र लोकतान्त्रिक गणतन्त्र-:
तत्कालीन माओवादी जनयुद्धमा बलिदान गरेका सहिद र मरितुल्य जीवन यापन चलाइरहेका घाईते अपाङ्ग भूई अवस्थाका कार्यकर्ताहरु देख्दा दु:ख लाग्छ र भन्न मन लाग्छ या आक्रोशित प्रश्न उठिरहन्छ हे प्रचण्ड बाबुराम- राम्रो बनाउनु थिएन भने किन हजारौं निर्दोष जनताका होनाहार सन्तान लाई वलि चढायौ ? लाखौं बालबालिकाहरुको भविष्य अन्धकारमय बनायौ ? अरबौ राष्ट्रिय धनसम्पत्ति र भौतिक पूर्वाधार धङ्स गरायौं ? हो लोकतान्त्रिक गणतन्त्रका वाहक तिमिहरु नै हो, यो परिवर्तनको सम्बाहक तिमिहरु नै हौ प्रचण्ड-बाबुराम ! पहिलो संविधान सभामा १२० सीटको पार्टी दोस्रो संविधानसभामा क्रमस ३० सिटमा झर्यो । यसो हुनुमा तत्कालीन माओवादी संगठन भित्रको अन्तरघात र यथास्थितिवादी कारक तत्त्व होइन भन्ने ठाउँ समेत तिमीहरुका पछिल्लो गतिविधि बाट कहाँ देखियो र ? एउटा महान क्रान्तिको विजयपछि अर्को उचाई चुम्न नयाँ राजनीतिक विचार र कार्यदिशा सहित नयाँ अग्रगामी नेतृत्व गर्ने युवाहरुको मष्तिस्क अघि सार्न सकेनौ। इतिहास हेर्दा पनि १९९० तिरको नेपाल प्रजा परिषद् को सुरुवाती आन्दोलनको आधारमा २००७ को परिवर्तन भयो तर ‘नेपाल प्रजा परिषद् ‘ नामको पार्टी त अस्तित्वमा रहेन त ! भारतमा कांग्रेस आइले ‘ब्रिटिश भगाऊ’ आन्दोलनको नेतृत्व गर्यो तर जनताको अबस्था बदल्न पटक्कै ध्यान दिएन या त सकेन आज खुम्चिएको छ । यस्तो भोग्दा ती कार्यकर्ताहरुलाई कति पीडा भएको होला त ?

 नेल्शन मण्डेला बन्ने अवसर -:

नेपालमा २३८ वर्षको राजतन्त्र फल्ने शसस्त्र क्रान्ति नायक कमान्डर भएको कारण गणतन्त्र प्रप्तिका सर्वमान्य ‘नायक’ को उपाधि लिएर सबैको अविभावक बन्ने ठूलो अवसर थियो। राज्य सत्ताको झिनो झाम्टो तिर लोभ नगरेको भए राष्ट्रिय अन्तराष्ट्रिय क्षेत्रमा प्रचण्डलाई नेल्सन मण्डेला जत्तिको सम्मानित बन्ने अबसर थियो ! चुक्नु भयो, हावामा उड्नु भयो, समयलाई बुझ्नु भएन। सही बस्तुवादी बिश्लेषण गर्नु भएन । दोधारे नीति लिनु भयो, प्रतिपक्षलाई धम्क्याउनु भयो, आफ्नै पार्टी भित्र मिलाएर लाने र आफ्नै नेतृत्वमा संबिधान एक बर्ष भित्र घोषणा गर्दा जितिन्छ भन्ने बुझ्नु भएन। सबै पार्टीलाई राखेर संयुक्त सरकार बनाउनु पर्छ भनेर जान्नु भएन। गिरिजा राष्ट्रपतिको लायक मानिस हो भनेर बुझ्नु भएन। सायद वहाँलाई नेल्सन मण्डेला वारे पढ्न आबस्यक लागेन होला ! काल-माक्स, महात्मा गान्धी, माओत्सेतुङ ले कहिल्यै राज्यसत्ताको आशन रोजेनन् तर यहाँ गणतन्त्र स्थापना गर्नु भनेको जनतालाई हकअधिकार सुनिश्चित गर्दै सुशासन र आर्थिक समृद्धि दिलाउनु भन्दा पनि आफ्नै महत्वकांक्षा पुरा गर्ने दाउपेचमा लाग्नु नै तत्कालीन माओवादी जनयुद्धको बदनाम गर्न तिर मोडिनु देश, राष्ट्र र राष्ट्रियता प्रतिको अपमान हो,भयो। अब समय घर्कियो , ईतिहासमा बिरलै प्राप्त हुने एक युगमा एक जनालाई एकपटक प्राप्त हुने त्यो अबसर लाई देशको हितमा प्रयोग गर्न चुक्नु हुदैन भन्ने बुझ्नु भएन ।

त्यसो त गिरिजा, ओली र प्रचण्ड यी तिनै जनाले बुझेका होइनन् । बरू अलिकति बुझेको देखियो मनमोहन अधिकारीले त्यसैको ब्याज खान पाइरहेछन एमाले ले आजसम्म। मनमोहन अधिकारी पछि पनि एमाले को नेतृत्वमा ४ वटा सरकार बन्यो, तिनजना पुर्ब प्रधानमन्त्री आज सम्म जिवित नै हुनुहुन्छ तर एउटा पनि जनपक्षीय तथा ऐतिहासिक महत्व बन्ने काम गरेको पाइएन बरु भएका उपलब्धि लाई व्यक्ति विशेषको कब्जामा राख्ने देखि सार्वजनिक जग्गा जमीन हडप्ने, राज्यको साधन स्रोत व्यक्ति र पार्टीका सिमित हुक्के ढोके लाई सुम्पने र चुनाव जित्ने कार्यकर्ता र सर्वसाधारणहरुलाई सधैं भ्रममा राखिरहने काम गरेको स्पष्ट देखिन्छ। शेरबहादुर देउवा कै नेतृत्वले महाकाली सन्धिमा राष घात देशका लागि असल प्रधानमन्त्री हुने भन्दा पनि जोतिष शास्त्रमा विश्वास गर्दै आज सम्म पाँचौ पटके प्रधानमन्त्री हुँदा पनि कुनै नयाँ आयोजना र जन- हितमा महत्वपूर्ण कार्य भएको पाईदैन। उनकै जिल्लाको उनैले मतदान गर्दैआएको मतदान केन्द्र रहेको स्कूलको भवनको हालत हेर्दा उनका हरेक कार्यकाल यी र यस्तै कारणले हामी धेरै सचेत नागरिकले शेरबहादुर देउवा, प्रचण्ड, केपी ओली, माधव नेपाल लाई सरदर नेता भन्दा माथि मान्न छोडेका छौ। बिकल्प खोज्नै पर्छ।

धन्यवाद छ ब्यबस्था बदल्ने काम मूलत सम्पन्न गर्नु भएकोमा असल युवालाई नेतृत्व दिएर संरक्षक बस्ने साहस गर्नुहोस् !आँट अन्यथा खोस्नुपर्ने अवस्था र बाध्यता नहोस्।
खेत रोप्दा पानी लगाइन्छ, दाईं गर्दा सुख्खा बनाएर खलो बनाइन्छ, रोपाईं गर्ने विधिबाट दाईं गरिंदैन। राजनीतिमा पनि सबै कुरा एकै तरिका र नेतृत्व बाट पुरा हुदैन।

“व्यवस्था बदल्न सक्नेले अवस्था पनि बदल्न सक्छ” भन्ने भ्रममा नपरौ। विशेष गरी माओवादी जनयुद्धका नायक प्रचण्ड लगायतले १० वर्षको सशस्त्र युद्ध गर्न र अवतरण गराउन मात्र सफल हुनु भयो त्यसपछि उहाँका सबै प्रयास असफल हुदै आएका छन्। आफु, पार्टी र कार्यकर्तालाई शान्तिपूर्ण रुपान्तरणमा बदल्न सक्नु भएन। आफ्नै पार्टी भित्र दोस्रो तेस्रो पंतिका नेतृत्व लाई पार्टी नेतृत्व दिन चाहनु भएन। विकास निर्माणमा सक्रिय र सक्षम वौद्धिक क्षमता भएका नेता डा बाबुराम र राजनीतिक निष्ठावान नेता मोहन वैद्य लाई सधै फरक धारमा राख्ने प्रवृत्तिले तत्कालीन माओवादी युद्धको साख जोगाउन सक्नु भएन कम्रेड प्रचण्ड !
पार्टी भित्र लोकतन्त्र को खडेरी-:
नेपाली कांग्रेस पार्टी भित्र तुलनात्मक रूपमा आन्तरिक लोकतान्त्रिक पद्धतिबाट संगठन निर्माण र नेतृत्व छनौट भएको देखिन्छ तर पनि मूखिया शैली चाहिँ कायमै रहिरह्यो भन्दा फरक नपर्ला। तर नेपालमा आफुलाई कम्युनिष्ट भन्ने पार्टीहरुमा आन्तरिक पार्टी भित्र लोकतान्त्रिक पद्धति अझै छैन। एमाले र माओवादी दुवै कम्युनिष्ट पार्टीको धेरै वटा महाधिवेशन देखियो ति सबै नाटकिय लोकतान्त्रिक विधिमा टुङ्गिएको पाइन्छ।

गल्ति स्विकार गर्दा इज्जत हुन्छ । मलाई अचम्म लाग्छ – मन्त्री हरूले गलत गर्दा फ्याट्टै मन्त्री आउट गर्छन । पार्टी अध्यक्ष वा सभापतिले गलत गर्दा पटक्कै हट्दैनन्। लिसो झैं टाॅसिन्छन र एक्लै हिड्नु परे पनि मूखिया बनिरहने किन ?

सबै पार्टीमा मात्रात्मक रूपमा नयाँ र पुरानो पुस्ता बीच द्वन्द्व रहेको यथार्थ यसै पनि बुझ्न सकिन्छ। नैतिकवान्, प्रतिभाशाली, बुद्धि र विवेकको धनी व्यक्तित्वलाई राजनीतिमा उठ्न नदिने गुनासो व्यापक मात्रामा सुनिदै आएको हो। अझ कतिपय पार्टीमा शीर्ष नेतृत्वको आड र अभयदान कै कारण पार्टी भित्रैबाट विद्रोही तत्वहरूले प्रश्रय पाइरहेका र स्वतन्त्र उम्मेदवार बनेको समेत पाइन्छ। हरेक पार्टी का युवा नेतृत्वले यस्ता कुप्रवृत्तिलाई पार्टी भित्र बाटै निर्ममतापूर्वक सामना र परास्त गर्न सकेनन्, लोकतान्त्रिक पद्धति बाट प्रतिस्पर्धा गर्ने स्थिति नबनाउने हो भने नेपालको राजनीतिमा अझ जटिल र भयावह हुँदै जाने पक्का छ।

अतः हरेक पार्टीमा नयाँ नेतृत्व, विचार र कार्यदिशा जन्मनु र हुर्कन दिनु पार्टी गत विकास मात्र होइन देश, राष्ट्र, राष्ट्रियता बलियो हुनु पनि हो।

प्रकाशित: ९ मंसिर २०७९, शुक्रबार १०:४८

Leave a Reply