No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

ताराहरू ब्ल्याक होलमा ठोकिँदा असाधारण विष्फोटन

0

ताराहरू एउटा ब्ल्याक होलमा ठोकिँदा अन्तरिक्षमा एउटा असाधारण विस्फोटन भएको वैज्ञानिकहरूले बताएका छन् । एउटा स्पेस टेलिस्कोप र अमेरिकी अन्तरिक्ष निकाय नासाको वेधशालाले ‘गामा–रे बर्स्ट’ भनिने उक्त घटना पत्ता लगाएका थिए ।

एक मिनेटसम्म भएको उक्त विस्फोटनलाई वैज्ञानिकहरूको एउटा टोलीले ‘एउटा दुर्लभ ब्रह्माण्डीय घटना’ को सङ्ज्ञा दिएको छ । वैज्ञानिकहरूले उक्त अनुसन्धानबाट भविष्यमा हुने घटनाहरूको अध्ययन गर्न सहयोग पुग्ने अपेक्षा व्यक्त गरेका छन् ।

गामा–रे बर्स्टलाई ब्रह्माण्डमा हुने सबैभन्दा शक्तिशाली विस्फोटन मानिन्छ । यहाँ उल्लेखित विस्फोटन हाम्रो आकाशगङ्गानजिकै अवस्थित एउटा तारापुञ्जमा भएको थियो। गत वर्ष डिसेम्बरमा उक्त घटना पत्ता लागेको थियो ।

उक्त घटनाबाट तुलनात्मक रूपमा लामो समय भएको र सामान्यतया निस्किने ठानिएकोभन्दा बढी इन्फ्रारेड प्रकाश उत्पन्न भएको वैज्ञानिकहरूले बताएका छन् । अनुसन्धानबाट उक्त प्रकाश ‘किलोनोभा’ भनिने तारकीय घटनाबाट उत्पन्न भएको सङ्केत गरेको छ। त्यस्तो घटनामा न्यूट्रन ताराहरू एउटा ब्ल्याक होलमा ठोकिन्छन् ।

अनुसन्धानको नेतृत्व अमेरिकास्थित नोर्थवेस्टर्न यूनिभर्सिटीकी जिलियन रास्टिनेजादले गरेकी थिइन् । अनुसन्धान टोलीमा बेलायतस्थित बर्मिङ्गम र लेस्टर विश्वविद्यालय तथा द नेदरल्यान्ड्सस्थित राड्बाउड यूनिभर्सिटीका विशेषज्ञहरू थिए ।

उक्त विस्फोटनका क्रममा सुन र प्ल्याटिनमजस्ता तत्वहरू बनेको हुनसक्ने वैज्ञानिकहरूले बताएका छन् । यूनिभर्सिटी अफ बर्मिङ्गममा प्राध्यापन गर्ने डा. म्याट निकोलका अनुसार यो अनुसन्धानले किलोनोभाहरू ‘ब्रह्माण्डमा सुन उत्पादन गर्ने मुख्य कारखाना हुन्’ भन्ने मान्यतालाई बल पुर्याएको छ।

प्रकाशित: २३ मंसिर २०७९, शुक्रबार १०:०१

Leave a Reply