No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

पोखरा महानगरका इन्जिनियर बरालसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

0

काठमाडौं । घर निर्माण सम्पन्नको प्रमाणपत्रका लागि सेवाग्रहीबाट घुस लिएको अवस्थामा नियन्त्रणमा लिइएका पोखरा महानगरपालिकाका इन्जिनियर शिवप्रसाद बरालसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

इन्जिनियर बराल, सव–इन्जिनियर उषाकिरण रोकाया र गोदार इन्जिनियरिङ कन्सल्टेन्सी सेवाका कर्मचारी सुरज कुँवरविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

आयोगको पोखरा कार्यालयबाट खटिएको टोलीले रोकाया र कुँवरलाई सेवाग्राहीबाट १ लाख ५० हजार रुपैयाँ घूस लिइसकेको अवस्थामा चैत २८ गते नियन्त्रणमा लिएको थियो । अनुसन्धान थालेपछि बराल वैशाख ४ मा पक्राउ परेका हुन् ।

इन्जिनियर बराल, सव–इन्जिनियर रोकाया र कन्सल्टेन्सी सेवाका सुरज कुँवरसमेतको मिलेमतोमा घर निर्माण सम्पन्न प्रमाणपत्र दिनको लागि ३ लाख ५० हजार रुपैयाँ माग गरेको अनुसन्धानमा पाइएको छ ।

दुई लाख कुँवरमार्फत लिई÷लिन लगाई रोकायालाई दिएको खुलेको छ । रोकायाबाट लिएर उक्त रकम इन्जिनियर बरालले आफ्नै नाममा रहेको बैँक खातामा जम्मा गरेका थिए भने घूसको बाँकी रकम रोकायासमेतको निर्देशानुसार १ लाख ५० हजार रुपैयाँ कुँवरले सेवाग्राहीबाट बुझि लिइसकेको अवस्थामा उक्त रकमसहित आयोगले पक्राउ गरेको थियो ।

तीनै जनविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गतको कसुरमा सजाय ३ लाख ५० हजार रुपैयाँ बिगो मागदाबी आयोगले लिएको छ ।

प्रकाशित: २० बैशाख २०८१, बिहीबार १३:२७

Leave a Reply