+

राजा महेन्द्र अर्को १० वर्ष बाँचेका भए…

१ पुष २०८१, सोमबार ०७:५५

रविन्द्र मिश्र ।

लोकतन्त्रको एउटा आडम्बरी टोपी लगाएर बाँकी शरीर निर्वस्त्र– ‘कुरीकुरी’ देखाउँदै–दौडिरहेको राजनीतिमा राजा महेन्द्रको योगदानको महत्व बुझाउन त्यति सहज हुँदैन । कुनै पनि देशको इतिहासलाई लोकतन्त्रको आँखाबाट मात्र हेर्न खोज्नु पूर्वाग्रहको उत्कर्ष हो । यद्दपी म लोकतन्त्रको कट्टर हिमायती हुँ । नेपालजस्तो पत्रपत्र पतित भएको लोकतन्त्रमा बसेर लोकतन्त्र नभएको भनिएका सिङ्गापुर, चीन, खाडी क्षेत्रलगयातका कयौँ विकसित देशहरूलाई ‘पश्चगामी’ भन्ने मेरो कुनै नैतिक अधिकार छैन । संसारकै अनैतिक मध्येको देशमा बसेर उनीहरूको आलोचना कसरी गर्नु !

राजा महेन्द्रको इमान, क्षमता, दूरदृष्टि र देशभक्तिलाई ‘म्याच’ गर्ने नेता नेपालले मात्र होइन, विश्वले नै विरलै पाउँछ । उनी अर्को १० वर्ष बाँचेका भए सिङ्गापुरका विख्यात नेता ली क्वान यूको हाराहारीमा आउने थिए । आज पनि नेपाल राजा महेन्द्रले निर्माण गरिदिएको राष्ट्रियता, राज्य सञ्चालनका लागि अत्यावश्यक संस्थाहरू र विकासका पूर्वाधारहरूको बलियो जगमा उभिएको छ । त्यो जगमा सुन्दर घर कसैले निर्माण गर्न सकेका छैनन् । बरू त्यो जग समेत भत्काउने प्रयासचाहिँ प्रशस्तै भएको छ । राजा महेन्द्र अमर रहुन्। राजसंस्था सहितको प्रजातन्त्र पुनर्स्थापित होस् !