+

विद्यालय फर्कँदै दलित समुदायका बालबालिका

१२ भाद्र २०८२, बिहीबार ०१:२४

सिरहा । विद्यालय छाडेका यहाँको लहान नगरपालिका– १८ का दलित तथा मुसहर समुदायका बालबालिका शैक्षिक सामग्री पाएपछि पुनः विद्यालय फर्केका छन् ।

शैक्षिक सामग्री वितरण र निःशुल्क ‘ट्युसन’ कक्षा सञ्चालन गरेपछि  कक्षा १ देखि ८ सम्मका विद्यालय छाडेका ६० जना बालबालिका विद्यालय फर्किएका हुन् ।

यसैअन्तर्गत बुधबार विसनपुर र शोभापुरका ४९ जना विपन्न बालबालिकालाई विद्यालयप्रति आकर्षित गराउन झोला, कापी, छाता, पानी बोतल, जुत्ता, पोसाक, कलम, पेन्सिल, इरेजरलगायत सामग्री वितरण गरिएको छ । नगरप्रमुख महेशप्रसाद चौधरीले उक्त सामग्री वितरण गरेका हुन् ।

नगरप्रमुख चौधरीले भने,“हामी विद्यालय सुधारमा लागिपरेका छौँ । दलित तथा विपन्न समुदायका बालबालिकाले विद्यालय नछाडुन् भन्ने हेतुले शैक्षिक सामग्री वितरणलाई निरन्तरता दिइरहेका छौँ ।”

उक्त कार्यक्रम रोटरी क्लब काठमाडौँको आर्थिक सहयोगमा र दलित जनकल्याण युवा क्लबको आयोजनामा गरिएको हो ।

क्लबका कार्यकारी निर्देशक विनोद विसुङ्खेले विसनपुर र शोभापुरसहित लहान–१३ स्थित घलेटोलका विद्यालय छाडेका बालबालिकालाई पुनः विद्यालयमा भर्ना गराइएको जानकारी दिए ।

उनले भने,“यो कार्यक्रम लहान नगरपालिकासँगको समन्वयमा अघि बढाइएको हो । हामीले विद्यालयबाट विमुख बालबालिकालाई पुनः शिक्षामा फर्काउन ट्युसन कक्षा, शैक्षिक सामग्री वितरण र अभिभावक सचेतना कार्यक्रम सञ्चालन गर्दै आएका छौँ ।”