+

महिलाको अर्थपूर्ण र गुणस्तरीय सहभागिता सुनिश्चित गर्न आवश्यक छ : प्रधानमन्त्री

२४ फाल्गुन २०८२, आईतवार ०६:३६

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले लैङ्गिक समानता, लोकतान्त्रिक मूल्य र सामाजिक न्यायको संस्कृतिलाई अझ सुदृढ बनाउन हातेमालो गर्न आह्वान गरेकी छन् ।

अन्तरराष्ट्रिय महिला दिवसको अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले अझै पनि धेरै महिला गुणस्तरीय शिक्षा, आधारभूत स्वास्थ्य सेवा, सम्मानजनक रोजगारी र नेतृत्व तहमा सार्थक सहभागिताबाट वञ्चित भएको उल्लेख गरेकी छन् । उनले भनेकी छन्, “उनीहरुलाई अझै विश्वास गरिहाल्ने र रु भन्ने मनोविज्ञान ज्युँ का त्यूँ छ । हिजो चुलाचौकामा बेहोरेको विभेद्को नयाँ स्वरुप आज कार्यस्थलमा छ ।” अब हाम्रो लक्ष्य केवल सहभागिता बढाउने मात्र होइन, अर्थपूर्ण र गुणस्तरीय सहभागिता सुनिश्चित गर्नुपर्ने उनको भनाइ छ ।

“अहिले शिक्षाको विस्तार भएको छ, चेतनाको स्तर उठेको छ । त्यसैले महिला अधिकारका लागि अझ दृढताका साथ अगाडि बढिरहेका छन् । हामीले यो पनि बुझ्नुपर्छ कि सबै महिलाको अवस्था समान छैन,” सन्देशमा भनिएको छ । उनले समाजमा पछि परेको, विकासको मूलधारबाट वञ्चित समुदायका महिला अझै बढी प्रताडित भएको पनि उल्लेख गरेकी छन्। विशेषगरी दलित महिला, कर्णालीका महिला, मधेसका महिला तथा सीमान्तकृत समुदायका महिलाको आवाज राज्यको नीति निर्माणमा अझ स्पष्ट रूपमा प्रतिविम्बित हुन आवश्यक रहेको उनको भनाई रहेको छ ।

प्रधानमन्त्री कार्कीले समानता, सशक्तीकरण र सामाजिक न्यायको आधारमा समतामूलक समाज निर्माण गर्नु आजको ऐतिहासिक दायित्व भएको र त्यो दायित्व राज्यको मात्र नभइ राजनीतिक दलहरू, नागरिक समाज, निजी क्षेत्र, सञ्चार जगत, राष्ट्रिय तथा अन्तरराष्ट्रिय विकास साझेदारको साझा जिम्मेवारी भएको उल्लेख गरेकी छन् ।