-गोकुल निरौला
आजभोलि नेपालको नक्सा हेर्दा र सम्झिदा कहिलेकाहीँ लाग्छ यो देश मानौँ इतिहासको एउटा साँघुरो गल्ली हो, जहाँबाट विश्व राजनीति हिँडेर जाने गर्छ। उत्तरतिर हिमालको सेतो पर्खाल, दक्षिणतिर मैदानको विशाल ढोका। बीचमा हामी कहिले गर्वले भरिएको, कहिले असमञ्जसले थिचिएको एउटा देश। हामी दुई विशाल छिमेकी देश भारत र चिन को बीचमा बसेका छौँ। यही अवस्थाले नेपाललाई कहिले अवसर दिएको छ, कहिले असजिलो। इतिहासले यसलाई “दुई ढुङ्गाबीचको तरुल” भनेको छ तर साँचो प्रश्न यो हो तरुल भएर हामी कति दिन बस्ने?
यो देश केवल भूगोल होइन, यो राजनीति पनि हो। यो केवल हिमाल होइन, यो इतिहास पनि हो। इतिहासको लामो गल्ली पनि हो । नेपालको आधुनिक राजनीति धेरै संघर्षबाट जन्मिएको हो। राणा शासनको अँध्यारो युगमा जब जनता बोल्न पनि डराउँथे, त्यतिबेला लोकतन्त्रको सपना बोकेर केही युवाहरू सडकमा निस्किएका थिए। त्यस आन्दोलनको नेतृत्व नेपाली काग्रेसले गर्यो। १९५० को आन्दोलनले राणा शासनको अन्त्य गर्यो। त्यो समय नेपाली जनताले सोचे अब देश उज्यालो बाटोमा लाग्नेछ। नेपाली रैतिहरु जनतामा परिणत हुनेछन । तर राजनीति सधैँ सपनाजस्तो हुँदैन।
नेपालमा प्रजातन्त्र आएको थोरै समयमै राजा महेन्द्रले संसद् भंग गरेर पञ्चायती व्यवस्था सुरु गरे। लोकतन्त्र फेरि भूमिगत भयो। तीन दशकसम्म देश एउटा बन्द कोठाजस्तो बन्यो, जहाँ आवाजहरू सुनिन्थे तर देखिँदैनथे। पन्चाएति व्यवस्थाको अन्त्यपछि आन्दोलनले फेरि लोकतन्त्र ल्यायो। त्यो आन्दोलनमा नेपाली काँग्रेस र कमन्युष्ट लगायत विभिन्न दलहरूको ठूलो भूमिका थियो। देशमा बहुदलीय व्यवस्था आयो, चुनाव भए,संसद् चल्यो। तर लोकतन्त्र आएको केही वर्षमै जनता बुझ्न थाले व्यवस्था बदलिएको छ, तर व्यवहार खासै बदलिएको छैन।
सरकारहरू बने, ढले, फेरि बने। मन्त्रीहरू बदलिरहे, तर गाउँका सडक उस्तै धुलाम्मे रहे। २०५२ सालदेखि तत्कालिन माओवादि पार्टिले जनयुद्ध सुरु गर्यो। दश वर्ष लामो द्वन्द्वले नेपाललाई थकित बनायो, हजारौँ मानिस मरे, हजारौँ परिवार उजाडिए। अन्तत २०६२/६३को आन्दोलनपछि शान्ति प्रक्रिया सुरु भयो। माओवादि सान्ति प्रकृयामा आएपछिनै नेपाल गणतन्त्र बन्यो र राजतन्त्र समाप्त भयो। यो इतिहासको ठूलो मोड थियो। तर फेरि प्रश्न उही उठ्यो के केवल व्यवस्था बदल्दा देश बदलिन्छ? नेपालको राजनीतिक कथा केवल आन्तरिक कथा होइन। यसको अर्को पात्र पनि छ भूराजनीति दक्षिणमा भारत, उत्तरमा चीन। भारतसँग हाम्रो खुला सिमाना छ लाखौँ नेपाली त्यहाँ काम गर्छन्।
व्यापारको ठूलो हिस्सा त्यहीँबाट आउँछ। चीनसँग हाम्रो हिमाल छ। अहिले सडक, रेल र पूर्वाधारका नयाँ सपनाहरू पनि छन्। चीनले अघि सारेको भारतको व्यापारी नाका जोड्नको लागि भारतको सिमा सम्म सडक संजाल ले नेपाललाई नयाँ सम्भावनाको कथा सुनाएको छ तर सम्भावना र यथार्थबीच दूरी पनि हुन्छ। नेपाल कहिलेकाहीँ यस्तो लाग्छ जसरी नदीको बीचमा उभिएको डुङ्गा, जसलाई दुई किनाराले तानिरहेका छन्। नेपालका पुराना राजनीतिक दलहरूको योगदानलाई नकार्न सकिँदैन। पुराना राजनितिक दलहरुको त्याग तपस्यालेनै देसमा लोकतन्त्र आयो । त्यतिमात्र भएन राजतन्त्र अन्त्य भयो र देशले लोकतान्त्रीक संविधान पयो । पुराना दलहरुले गरेका आन्तोलन पछिका यी उपलब्धिहरू इतिहासमा लेखिनेछन्। तर इतिहासले अर्को कुरा पनि लेख्नेछ तीन दशकको लोकतन्त्रमा जनताको जीवन कति बदलियो?
देशमा भ्रष्टाचार किन बढ्यो? यति मात्र भएन राजनीति किन व्यापारजस्तो भयो? सरकार किन स्थिर भएन? भन्ने प्रस्नलेनै जनतामा निराशा सुरु भयो । यो चक्र देखेर कहिलेकाहीँ लाग्छ नेपालको राजनीति एउटा पुरानो नाटकजस्तो भएको छ। पात्रहरू उही, संवाद उही, केवल मञ्च बदलिएको। यही निराशाको बीचमा नयाँ शक्ति उदायो राष्ट्रिय स्वोतन्त्र पार्टि । यस पार्टिका सभावति पत्रकारिताबाट राजनीतिमा प्रवेश गरेका हुन । हुनत पत्रकारिता बाटै आएका रबिन्द्र मिश्र कुहिरोमा हराएको काग जस्तै भए । तर रवि लामेछानेले नेतृत्व गरेको यो दलले छोटो समयमै ठूलो जनसमर्थन पायो। यो समर्थन केवल एउटा पार्टीलाई होइन यो समर्थन एउटा आशालाई हो।
जनताले सोचे सायद अब राजनीति फरक हुनेछ। तर इतिहासले एउटा पाठ सिकाएको छ राजनीतिमा आशा धेरै जन्मिन्छन्, तर सबै आशा पूरा हुँदैनन्।राष्ट्रिय स्वतन्त्र पार्टीका अगाडि ठूलो चुनौती छ। उनीहरूले केवल पुराना दलहरूको आलोचना गरेर मात्र पुग्दैन नयाँ उदाहरण पनि दिनुपर्छ। यदि यो दलले सुशासन ल्याउन सक्यो भने राजनीतिमा जनविश्वास फर्कन सक्छ। भ्रष्टाचार नियन्त्रण गर्न सक्यो भने राज्यको चरित्र बदलिन सक्छ। तर यदि यो पनि पुरानै बाटोमा हिँड्यो भने जनताको निराशा झन् गहिरो हुनेछ। यति मात्र होइन नेपालको भौगोलिक अवस्थाले देशलाई ठूलो अवसर दिएको छ। दुई विशाल अर्थतन्त्रबीच बसेको देश यदि बुद्धिमानीपूर्वक चले भने व्यापार, ऊर्जा र पर्यटनको केन्द्र बन्न सक्छ। नयाँ भनिएका राजनितिक दलहरुले सचेत र बुद्ध पुर्वक कामगर्यो भने नेपाल भारत र चीनबीचको आर्थिक पुल बन्न सक्छ। पुल बन्नका लागि पहिले आफ्नै जग बलियो हुनुपर्छ र स्थिर राजनीति बिना विकास सम्भव छैन।
आन्दोलनले नेपालको राजनीतिमा बारम्बार पात्र बदलिएका छन्। उदाहरण लिनेहो भने एक सय चास बर्षे जहानिया राणाशासन ढल्यो । दुई सए पाच बर्ष पुरानो राज संस्था गयो । राजाले नै ल्याएको पञ्चायत गयो प्रजातन्त्र आयो र नेपालमा गणतन्त्र पनि आएको थियो । तर कहिलेकाहीँ ईतिहास हेर्दै गर्दा लाग्छ प्रणाली बदलियो, तर प्रवृत्ति उही रह्यो र राजनीति अझै पनि सत्ता केन्द्रित छ। विकास अझै पनि भाषणमै सीमित छ यही कारणले जनता नयाँ विकल्प खोजिरहेका छन्। नेपालको भविष्य एउटा प्रश्नजस्तो उभिएको छ। यो देश दुई शक्तिशाली छिमेकीबीच सन्तुलन कायम राख्दै अघि बढ्न सक्छ त ? राजनीतिले जनताको विश्वास फेरि जित्न सक्छ? के नयाँ शक्तिहरूले पुराना गल्ती दोहोर्याउने छैनन्?
जनता सामु यी प्रश्नहरूको उत्तर समयले दिनेछ। नेपाल सानो देश हो, तर यसको कथा सानो छैन। यो देश हिमालजस्तो उचाइ भएको सपना बोकेर बसेको छ। तर सपनाले मात्र देश बन्दैन। त्यसका लागि इमानदार राजनीति, स्पष्ट नीति र राष्ट्रिय एकता चाहिन्छ। नेपालमा पुराना दलहरूले इतिहास बनाएका छन् अब नयाँ दलहरूले भविष्य बनाउनुपर्छ। राजनीति आज एउटा मोडमा उभिएको छ यो मोडबाट देश कता जान्छ ?


