+

संसदीय समितिका १२ सभापति निर्विरोध निर्वाचित: रास्वपाको वर्चस्व, लेखा समिति कांग्रेसको भागमा

४ बैशाख २०८३, शुक्रबार १२:४१

काठमाडौं। प्रतिनिधिसभा अन्तर्गतका १० विषयगत र २ वटा संयुक्त गरी कुल १२ वटा संसदीय समितिको नेतृत्व चयन प्रक्रिया सम्पन्न भएको छ।

शुक्रबार सिंहदरबारमा बसेको सम्बन्धित समितिका बैठकहरूले आ-आफ्ना सभापतिहरूलाई निर्विरोध निर्वाचित गरेका हुन्।

गएको चैत २७ गते प्रतिनिधिसभाले समितिका सदस्यहरू चयन गरेसँगै रिक्त रहेका नेतृत्वका लागि बिहीबार मनोनयन दर्ता भएको थियो। प्रतिनिधिसभामा एकल बहुमत रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अधिकांश समितिको नेतृत्व पाएको छ भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सार्वजनिक लेखा समितिको नेतृत्व सम्हालेको छ।

नवनिर्वाचित सभापतिहरूको नामावली

नवनिर्वाचित सभापतिहरू र उनीहरूले नेतृत्व गर्ने समितिहरूको विवरण यस प्रकार छ:

सि.नं. समितिको नाम नवनिर्वाचित सभापति राजनीतिक दल
अर्थ समिति कृष्णहरि बुढाथोकी रास्वपा
अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति सुम्नीमा उदास रास्वपा
सार्वजनिक लेखा समिति भरत खड्का नेपाली कांग्रेस
कानुन, न्याय तथा मानव अधिकार समिति समीक्षा बास्कोटा रास्वपा
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति अशोक चौधरी रास्वपा
पूर्वाधार विकास समिति आशिष गजुरेल रास्वपा
महिला तथा सामाजिक मामिला समिति आकृति अवस्थी रास्वपा
राज्य व्यवस्था तथा सुशासन समिति हरि ढकाल रास्वपा
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति ओजस्वी शेरचन रास्वपा
१० उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हित समिति  रहबर अन्सारी रास्वपा
११ संसदीय सुनुवाइ समिति (संयुक्त) बोध नारायण श्रेष्ठ रास्वपा
१२ राज्यका निर्देशक सिद्धान्त अनुगमन समिति (संयुक्त) गणेश कार्की रास्वपा

भर्खरै सम्पन्न निर्वाचनमा बहुमत प्राप्त गरेको रास्वपाले संसदीय समितिहरूमा पनि आफ्नो पकड बलियो बनाएको छ। संसदीय प्रणालीको परम्पराअनुसार ‘वाचडग’ मानिने सार्वजनिक लेखा समितिको सभापति भने प्रतिपक्षी दल नेपाली कांग्रेसलाई दिइएको छ।

अबको कार्यभार संसदीय समितिहरूले नेतृत्व पाएसँगै अब संसदमा विचाराधीन रहेका विधेयकहरूमाथिको दफावार छलफल र सरकारका कामकारबाहीको निगरानीले गति लिने अपेक्षा गरिएको छ।

शुक्रबार सभापति चयन भएसँगै १२ वटा समितिका सभापतिहरुले सभामुख डीपी अर्याल समक्ष सपथ ग्रहण गरेका हुन्।