काठमाडौँ । सरकारले सञ्चालन गरेको ‘शून्य बाँकी फाइल सप्ताह’ अभियानका क्रममा फर्छ्योट हुन नसकेका फाइलहरूबारे गुनासो गर्न सबै सरोकारवालालाई आह्वान गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालयले बुधबार सार्वजनिक सूचना जारी गर्दै गुनासाे गर्न भनेकाे हाे ।
गत चैत ३० देखि २०८३ वैशाख ७ गतेसम्म देशभरका तीनै तहका सरकारी निकायमा उक्त अभियान सञ्चालन गरिएको थियो। अभियानको उद्देश्य लामो समयदेखि अल्झिएका फाइलहरूलाई छिटोछरितो रूपमा टुङ्ग्याउने र सेवा प्रवाहलाई प्रभावकारी बनाउने रहेको थियो।
यद्यपि सो अवधिमा समेत फर्छ्यौट हुन नसकेका फाइलहरूबारे कुनै गुनासो वा समस्या भएमा नागरिकहरूले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत रहेको हेलो सरकार शाखामा सम्पर्क गर्न सक्ने जनाइएको छ।
गुनासो दर्ताका लागि टोल फ्री नम्बर ११११ मा फोन गर्न सकिनेछ भने अनलाइनमार्फत पनि https/gunaso.opmcm.gov.np/register मा गई गुनासो पेस गर्न सकिने व्यवस्था छ।
सरकारले सबै नागरिकलाई आफ्नो समस्या तथा गुनासो समयमै दर्ता गरी सेवा सुधारमा सहयोग गर्न अनुरोध गरेको छ।



