+

कच्चा पदार्थ अभावमा पुनः बन्द भयो हेटौँडा सिमेन्ट उद्योग

११ बैशाख २०८३, शुक्रबार १४:०३

हेटौंडा। लामो समयदेखि आर्थिक संकट र व्यवस्थापकीय समस्या भोग्दै आएको सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योग पुनः बन्द भएको छ। कच्चा पदार्थको अभावलाई मुख्य कारण देखाउँदै उद्योगले आफ्नो उत्पादन प्रक्रिया पूर्ण रूपमा रोकेको हो। करिब एक महिनाअघि मात्रै नियमित सञ्चालनमा ल्याइएको सो उद्योग कोइला र ढुङ्गाजस्ता अत्यावश्यक कच्चा पदार्थको व्यवस्थापन गर्न नसक्दा फेरि थलिएको छ।

उद्योग व्यवस्थापनका अनुसार पछिल्लो समय कोइला आपूर्तिमा देखिएको गम्भीर समस्या र त्यसका लागि आवश्यक पर्ने रकमको अभावले उत्पादन कार्य अघि बढाउन सकिने अवस्था छैन।

उद्योगले कोइला खरिदका लागि बोलपत्र आह्वान गरेको भए पनि आर्थिक स्रोतको जोहो गर्न नसक्दा र सप्लायर्सहरूलाई भुक्तानी दिन बाँकी रहेका कारण आपूर्ति प्रक्रिया सहज हुन सकेको छैन। यसअघि नै विभिन्न आपूर्तिकर्ता र कर्मचारीहरूलाई गरी अर्बौँ रुपैयाँ भुक्तानी दिन बाँकी रहेको उद्योगको दायित्व झन् बढ्दै गएको छ।

केही समयअघि सञ्चालनमा आएको उद्योगले केही हजार टन क्लिङ्कर उत्पादन गरी सिमेन्ट प्याकेजिङको काम गरिरहेको थियो। तर, आवश्यक कच्चा पदार्थको निरन्तर आपूर्ति नहुँदा र मेसिनरी मर्मतसम्भारमा समेत समस्या देखिएकाले उद्योगलाई निरन्तरता दिन नसकिएको हो।

सरकारले पटक-पटक रुग्ण उद्योगहरू सञ्चालन गर्ने घोषणा गरे तापनि यथार्थमा भने हेटौँडा सिमेन्ट उद्योगले कहिले खुल्ने र कहिले बन्द हुने नियति भोगिरहेको छ। लामो इतिहास बोकेको यस उद्योगको यस्तो अवस्थाले सरकारी उद्योगहरूको भविष्य र व्यवस्थापनमाथि गम्भीर प्रश्नचिन्ह खडा गरेको छ।