+

पश्चिम एसियामा आइपुग्यो तेस्रो अमेरिकी विमानवाहक युद्धपोत

१२ बैशाख २०८३, शनिबार ०८:१७

वासिङ्टन डीसी । अमेरिकाले पश्चिम एसिया क्षेत्रमा तेस्रो विमानवाहक युद्धपोत पठाएको छ, । यसलाई विज्ञहरूले पछिल्ला २० वर्षमा यस क्षेत्रमा सबैभन्दा ठूलो अमेरिकी नौसैनिक उपस्थिति भनेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्ध कहिले सकिन्छ भनेर समय सीममा दिन अस्वीकार गरेकै अवस्थामा विमानवाहक युद्धपोत जहाज पुगेको हो । अमेरिकी मध्य कमान्ड (सेन्टकम)का अनुसार यूएसएस जर्ज डब्ल्यू बुस पश्चिम एसियाको जिम्मेवारी क्षेत्रमा प्रवेश गरेको छ ।

यो युद्धपोत निम्मिट्ज–क्लासको हो । यो सन २००९ मा सेवा छिरेको थियो । लगभग हजार फिट लामो र १ लाख टनभन्दा बढी तौल भएको यो युद्धपोतमा ८० भन्दा बढी विमान राख्न सकिन्छ । यसमा दुईवटा आणविक रिएक्टर छन् । यसमा ५ हजार ५०० भन्दा बढी सैनिक तथा एयर क्रु हुन्छन् ।

विशेषज्ञहरूका अनुसार यो तैनाथीले कुनै गोली नचलाइकनै कूटनीतिक दबाब बढाउने संकेत दिएको छ । पूर्व अमेरिकी नौसेना कप्तान कार्ल शुस्टरले यो उपस्थितिले इरानमाथि शान्ति वार्ताअघि थप दबाब सिर्जना गर्ने बताएका छन् ।

यो जहाज पहिले तैनाथ भएको यूएसएस जेराल्ड आर फोर्डलाई प्रतिस्थापन गर्न आएको हुन सक्ने केही विश्लेषकहरूको अनुमान छ । यो जहाज लामो समयदेखि यस क्षेत्रमा तैनाथ छ । अर्को जहाज यूएसएस खब्राहम लिकन पनि युद्ध सुरु भएदेखि नै अरब सागरमा उपस्थित छ ।