+

नेपालको प्रेस नोटलाई जवाफ दिँदै भारतले भन्यो– दाबीहरू ऐतिहासिक तथ्य र प्रमाणमा आधारित छैन

२१ बैशाख २०८३, सोमबार ०६:४४

काठमाडौँ । भारत सरकारले लिपुलेक नाका हुँदै हुने कैलाश मानसरोवर यात्राबारे आफ्नो धारणा पुनः स्पष्ट परेको छ । चीन र भारतले लिपुलेक हुँदै कैलाश मानसरोवर यात्रा खुल्ला गरेपछि नेपाल सरकारले आइतबार प्रेस नोट जारी गर्दै त्यसमा आफ्नो ध्यानाकर्षण भएको जनाएपछि भारतको तर्फबाट यस्तो प्रतिक्रिया आएको हो ।

भारतको विदेश मन्त्रालयले आइतबार सार्वजनिक गरेको वक्तव्यमा नेपालका तर्फबाट उठाइएका सीमासम्बन्धी दाबीहरूबारे प्रतिक्रिया दिँदै आफ्नो अडान सुस्पष्ट र निरन्तर रहेको उल्लेख गरेको हो । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले लिपुलेक नाका सन् १९५४ देखि नै कैलाश मानसरोवर यात्राका लागि प्रयोग हुँदै आएको र यो कुनै नयाँ विकास नभएको उल्लेख गरेका छन् ।

“भारतले यस्ता क्षेत्रीय दाबीहरू ऐतिहासिक तथ्य र प्रमाणमा आधारित नभएको ठान्दै आएको छ । एकपक्षीय रूपमा क्षेत्रीय दाबी विस्तार गर्नु व्यवहारिक रूपमा स्वीकार्य हुँदैन ।” व्यक्तव्यमा भनिएको छ । साथै, भारतले नेपालसँग द्विपक्षीय सम्बन्धअन्तर्गत रहेका सबै विषयमा रचनात्मक संवादका लागि भारत तयार रहेको पनि जनाएको छ । सीमासम्बन्धी बाँकी रहेका विषयहरू कूटनीतिक माध्यमबाट समाधान गर्न सकिने विश्वास व्यक्त गरिएको छ ।

india notice