काठमाडौं। जेनजी नेता मिराज ढुंगानाले सुकुम्बासी व्यवस्थापनका विषयमा सरकारको आलोचना गरेका छन्। सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले प्रधानमन्त्रीको भूमिकामाथि प्रश्न उठाएका हुन्।
उनले प्रधानमन्त्रीले सुकुम्बासीको व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए पनि त्यसको कार्यान्वयन स्पष्ट नभएको बताए। चुनावअघि डोजर प्रयोगका क्रममा विरोध जनाउँदै छाती थाप्नेहरू अहिले खै त भन्दै प्रश्न उठाए।
उनले भने, ‘सुकुम्बासीलाई प्रधानमन्त्रीले व्यवस्थापन गर्ने भनेका छन् तर कसरी व्यवस्थापन गर्छन्? चुनाव अगाडि डोजर हान्दा छाती थाप्नेहरु पनि थिए, तर अहिले खै त छाति थाप्नेहरु?’
ढुंगानाले हाल करिब ५० लाख नेपाली प्रभावित भएको दाबी गर्दै प्रधानमन्त्रीले सामाजिक सञ्जालमा स्टाटस लेखेर मात्र जिम्मेवारी पूरा नहुने बताए। उनले प्रधानमन्त्रीलाई प्रत्यक्ष रूपमा उपस्थित भएर स्पष्ट धारणा सार्वजनिक गर्न आग्रह गरे। उनले प्रधानमन्त्रीका अभिव्यक्तिहरू स्वयम्ले लेख्ने हो वा अरू कसैले तयार गर्ने भन्ने विषयमा पनि प्रश्न उठाउँदै पारदर्शिताको आवश्यकता औंल्याए।
उनले भने, ‘अहिले ५० लाख नेपाली जनतालाई उठिबास लागेको छ। तर प्रधानमन्त्रीले स्टाटस लेखेर मात्र हुन्छ ? के यो मजाक हो? थोरै त लाज मान्नुस् । प्रत्यक्ष आएर बोलिदिनुस् न। बोलेपछि बालेन जी ले बोले है भन्ने त हुन्छ । आज पनि सामाजिक सञ्जालमा स्टाटस नै लेख्ने, त्यो अब कस्ले लेखिदिन्छ, तपाईं आफैंले हो की होइन?’
त्यसैगरी उनले सुकुम्बासीहरूको दीर्घकालीन व्यवस्थापनबारे स्पष्ट योजना ल्याउन सरकारसँग माग गरेका छन्। उनले सुकुम्बासीहरु दुई छाक खान पाउँछन् की पाउँदैनन्? पाउँछन् भने कसरी पाउँछन् र ती ५० लाखले टाउकोमाथि छत र रोजगारी पाउँछन् की पाउँदैनन् भन्दै प्रश्न गरे।
उनले भने, ‘सुकुम्बासीहरुको व्यवस्थापन कसरी गर्नुहुन्छ सुरुमा ? डोजर चलाउन आजैबाट छोडदिनुहोस् । कति बजेट छुट्याउनु हुन्छ ? कहाँ जग्गा दिनुहुन्छ ? अथवा सुकुम्बासीलाई कहाँ राख्नु हुन्छ ? सुत्केरी महिलाले हेल्थ केयर पाउँछ की पाउँदैन ? स्वास्थ्य सेवा पाउँछ की पाउँदैन ? ती बच्चाहरुले शिक्षा पाउँछन् की पाउँदैनन् ? दुई छाक खान पाउँछन् की पाउँदैनन् ? पाउँछन् भने कसरी पाउँछन् र ती ५० लाखहरुले टाउकोमाथि छत र रोजगारी पाउँछन् की पाउँदैनन् ?’
ढुंगानाले सुकुम्बासी समस्या समाधान राज्यको दायित्व भएको उल्लेख गर्दै आवश्यक तयारी र विकल्पबिना डोजर प्रयोग गर्न नहुने धारणा व्यक्त गरे । ‘यो सबै राज्यकै जिम्मेवारी हो । ड्यामडुम डोजर चलाउने हो भने यी कुरा सरकारले नगरिकन सुकुम्बासी बस्तीमा डोजर चलाउन पाउनु हुँदैन,’ उनले भने ।


