+

बेइजिङमा चिनियाँ र इरानी विदेशमन्त्रीबिच वार्ता, के भयो कुराकानी ?

२३ बैशाख २०८३, बुधबार १७:५६

बेइजिङ । स्ट्रेट अफ होर्मुजलाई लिएर अमेरिकासँग तनाव चुलिएका बेला इरानका विदेशमन्त्री अब्बास अरगाची र चिनियाँ विदेशमन्त्री वाङ यीबिच बेइजिङमा महत्त्वपूर्ण भेटवार्ता भएको छ।

आगामी मे १४ र १५ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबिच बेइजिङमा हुन लागेको शिखर सम्मेलनको ठीक एक हप्ताअघि बुधबार यो बैठक भएको हो।

बैठकका क्रममा इरानी विदेशमन्त्री अरगाचीले चीन इरानको नजिकको मित्र भएको बताउँदै वर्तमान परिस्थितिमा दुई देशबिचको आपसी सहयोग झन् बलियो बन्ने विश्वास दिलाए। इरानी समाचार एजेन्सी आईएसएनएका अनुसार इरान र अमेरिकाबिच जारी युद्ध अन्त्यका लागि हुने वार्ताको सन्दर्भमा अरगाचीले भने, ‘हामी वार्तामा आफ्नो वैध अधिकार र हितको रक्षा गर्न हरसम्भव प्रयास गर्नेछौँ। हामी केवल निष्पक्ष र बृहत् सम्झौता मात्र स्वीकार गर्छौँ।’

गत फेब्रुअरी २८ मा अमेरिका-इजरायल र इरानबिच युद्ध सुरु भएयता इरानी विदेशमन्त्रीको यो पहिलो चीन भ्रमण हो। यो युद्धका कारण यस क्षेत्रको ऊर्जा पूर्वाधार र विश्वव्यापी तेल तथा ग्यास आपूर्तिमा ठूलो अवरोध सिर्जना भएको छ। युद्ध सुरु भएयता अरगाचीले चिनियाँ विदेशमन्त्री वाङसँग कम्तीमा तीन पटक टेलिफोनमा कुराकानी गरिसकेका थिए।

अर्कातर्फ, अमेरिकी विदेशमन्त्री मार्को रुबियोले बेइजिङलाई इरानमाथि दबाब सिर्जना गर्न र होर्मुजमा लगाएको अवरोध हटाउन आग्रह गरेका छन्। विश्वको कुल तेल र ग्यास आपूर्तिको पाँचौँ हिस्सा ओगट्ने यस महत्त्वपूर्ण जलमार्गलाई इरानले युद्ध सुरु भएलगत्तै बन्द गरिदिएको थियो। यसले गर्दा विश्वभर इन्धन र रासायनिक मलको मूल्य अत्यधिक बढेको छ भने विश्वव्यापी आर्थिक मन्दीको त्रास समेत फैलिएको छ।

गत अप्रिलमा युद्धविराम भएपछि अमेरिकाले इरानलाई आफ्ना सर्तहरू मान्न बाध्य पार्ने उद्देश्यले इरानी बन्दरगाहहरूमा आफ्नै किसिमको नौसैनिक नाकाबन्दी लगाएको थियो। यस युद्धले वासिङ्टन र बेइजिङबिचको सम्बन्धमा पनि तिक्तता ल्याएको छ। अमेरिकाले इरानी तेल खरिद गरेको आरोपमा चिनियाँ कम्पनीहरूमाथि प्रतिबन्ध लगाएको छ भने चीनले शनिबार मात्रै कडा जवाफ दिँदै आफ्ना कम्पनीहरूलाई अमेरिकी प्रतिबन्धहरू पालना नगर्न निर्देशन दिएको छ।

बेइजिङबाट अल जजिराकी पत्रकार कट्रिना यूका अनुसार अरगाची र वाङबिचको बैठकमा दुईवटा विषय प्रमुख एजेन्डा बनेका छन्– युद्धविरामको निरन्तरता र होर्मुज जलमार्ग पुनः खुला गर्ने विषय। उनले भनेकी छिन्, ‘चीनले इरानी बन्दरगाहमा अमेरिकी नौसैनिक नाकाबन्दीको कडा आलोचना गर्दै यसलाई खतरनाक कदम भनेको छ। तर, पछिल्लो समय बेइजिङले यो महत्त्वपूर्ण जलमार्ग बन्द गर्ने इरानको निर्णयप्रति पनि असन्तुष्टि जनाउन थालेको छ।’

यस बैठकमा इरानले जलमार्ग बन्द गरिरहे चीनले उसलाई कस्तो प्रकारको समर्थन जारी राख्न सक्छ भन्नेबारे पनि छलफल भएको बताइएको छ। संयुक्त राष्ट्रसंघ जस्ता अन्तर्राष्ट्रिय मञ्चहरूमा इरानलाई थप प्रतिबन्धहरूबाट जोगाउन चीनको समर्थन आवश्यक पर्नेछ।

यस भ्रमणमार्फत इरानी विदेशमन्त्रीले चिनियाँ राष्ट्रपति सीले ट्रम्पसँग भेट्दा इरानको विषयमा के कस्ता कुराहरू टेबलमा राख्नेछन् र बेइजिङले वासिङ्टनलाई कुनै यस्तो सम्झौता त गर्नेछैन जसले तेहरानलाई अप्ठ्यारोमा पार्छ भन्नेबारे स्पष्टता खोजेका छन्।

बदलामा चीनले पनि यो महत्त्वपूर्ण शिखर सम्मेलनअघि इरानले कुनै पनि उत्तेजक वा नाटकीय कदम नचाल्ने प्रतिबद्धता खोजेको छ।