तेहरान । इरानकी मानवअधिकार अभियन्ता तथा नोबेल शान्ति पुरस्कार विजेता नर्गेस मोहम्मदीलाई स्वास्थ्य अवस्था बिग्रिएपछि जेलबाट तेहरानस्थित अस्पतालमा सारिएको छ ।
उनको परिवारद्वारा सञ्चालित नर्गेस मोहम्मदी फाउन्डेशनले आइतबार जारी गरेको वक्तव्यमा इरानी अधिकारीहरूले ठूलो धरौटीमा सजाय निलम्बन गर्दै उनलाई अस्थायी रूपमा रिहा गरेको जनाएको छ । गत साता मोहम्मदीका परिवार र समर्थकहरूले यस वर्ष दुई पटक शंकास्पद हृदयाघात भएपछि उनको स्वास्थ्य गम्भीर बन्दै गएको र जेलमै मृत्यु हुन सक्ने चेतावनी दिएका थिए ।
५४ वर्षीया मोहम्मदीलाई इरानमा महिलामाथिको दमनविरुद्ध अभियान चलाएको तथा मानवअधिकार प्रवर्द्धन गरेको भन्दै सन् २०२३ को नोबल शान्ति पुरस्कार प्रदान गरिएको थियो । परिवारले बारम्बार अस्पताल सार्न आग्रह गरेपछि मोहम्मदीलाई अहिले तेहरान पार्स अस्पतालमा भर्ना गरिएको छ, जहाँ उनको आफ्नै चिकित्सक टोलीले उपचार गरिरहेको फाउन्डेशनले जनाएको छ । यसअघि उनी उत्तरी इरानको जान्जानस्थित अस्पतालमा १० दिन उपचाररत थिइन् । त्यही क्षेत्रमा रहेको जेलमा उनले सजाय भोगिरहेकी थिइन् ।
पेरिसमा रहेका उनका पति ताघी रहमानीले उनको समग्र स्वास्थ्य अवस्था राम्रो नभएको र स्थिति अझै अस्थिर रहेको बताएका छन् । उनकी वकिल चिरिन्ने अर्दाकानीका अनुसार जेल बसाइका क्रममा मोहम्मदीको करिब २० किलोग्राम तौल घटेको छ । उनलाई बोल्नसमेत कठिन भइरहेको र चिनिनै गाह्रो हुने अवस्था पुगेको बताइएको छ ।
सन् २०२१ मा मोहम्मदीलाई राज्यविरुद्ध प्रचार गतिविधि र राष्ट्रिय सुरक्षाविरुद्ध मिलेमतो गरेको आरोपमा १३ वर्षको जेल सजाय सुनाइएको थियो । उनले ती आरोप अस्वीकार गर्दै आएकी छन् । यसअघि सन् २०२४ डिसेम्बरमा उनलाई स्वास्थ्य अवस्थाका कारण एभिन जेलबाट अस्थायी रूपमा रिहा गरिएको थियो ।


