+

लेबनानमा इजरायली आक्रमण तीव्र : पछिल्लो २४ घण्टामा स्वास्थ्यकर्मीसहित ५१ जनाको मृत्यु

२८ बैशाख २०८३, सोमबार ०७:४४

बेरुत । लेबनानी स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा भएका इजरायली आक्रमणहरूमा दुई स्वास्थ्यकर्मीसहित ५१ जनाको ज्यान गएको जनाएको छ।

इजरायली सेनाले अन्तर्राष्ट्रिय कानुन र मानवीय मापदण्डको उल्लङ्घन गर्दै प्यारामेडिकहरूलाई लक्षित गरी बिन्त जुबेल जिल्लाको कलाविया र तिबनिनमा रहेका स्वास्थ्य केन्द्रहरूमा दुईवटा हवाई आक्रमण गरेको मन्त्रालयले बताएको हो।

संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा भएको युद्धविराम तेस्रो हप्तामा प्रवेश गरे पनि हिंसा रोकिएको छैन। गत मार्च २ मा इजरायली सेनाले नयाँ सैन्य अभियान सुरु गरेयता लेबनानभर २ हजार ८ सय ४६ जनाको मृत्यु भइसकेको मन्त्रालयको तथ्याङ्क छ। संयुक्त राष्ट्रसंघका अनुसार यस अवधिमा भएका १ सय ३० भन्दा बढी इजरायली आक्रमणमा कम्तीमा १ सय ३ लेबनानी स्वास्थ्यकर्मी मारिएका छन् भने २ सय ३० जना घाइते भएका छन्।

दक्षिण लेबनानको टायरमा रहेका लेबनानी नागरिक रक्षाका प्रमुख अली सफिउद्दीनले आफूहरू हरेक सेकेन्ड र हरेक दिन खतरामा रहेको बताएका छन्। उनले आफूहरू बाँच्ने हो कि मर्ने भन्ने कुरा सधैँ मनमा खेलिरहने र यहाँ काम गर्नुको अर्थ जीवन त्यागिसकेको जस्तो लाग्ने पीडा व्यक्त गरेका छन्। उनले आफ्ना धेरै साथीहरू गुमाइसकेकाले आफूहरू पनि मरिसकेको जस्तो महसुस हुने बताएका छन्।

इजरायली आक्रमणका कारण मार्च २ यता १२ लाखभन्दा बढी लेबनानीहरू विस्थापित भएका छन्। अप्रिल १६ देखि युद्धविराम लागू भएको भनिए पनि त्यसयता आक्रमणको सङ्ख्या झन् बढ्दै गएको पाइएको छ।