+

क्रियाशील अद्यावधिकको निर्णयले कांग्रेसमा विवाद,कैलालीको पार्टी कार्यालयमा तालाबन्दी

१ जेष्ठ २०८३, शुक्रबार १५:३७

धनगढी । नेपाली कांग्रेस कैलालीको पार्टी कार्यालयमा तालाबन्दी गरिएको छ । पार्टी केन्द्रीय कार्यालयले जेठ १२ गतेभित्र क्रियाशील सदस्यता अध्याबधिक गरिसक्नुपर्ने निर्णय गरेसँगै जिल्ला सभापति नारायण भट्टको निर्देशनमा तालाबन्दी गरिएको हो।

बिहीबार बसेको कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकले सदस्यता वितरण, छुट नवीकरण र अद्यावधिक गर्ने कार्य जेठ २१ गतेभित्र सक्ने निर्णय गरेको थियो।

त्यसको बिरोधमा पूर्वसभापति शेरबहादुर देउवा समूहका कैलाली जिल्ला सभापति भट्टको नेतृत्वमा नै पार्टी कार्यालयमा ताला लगाइएको स्रोतले जानकारी दिएको छ।

शुक्रबार धनगढीस्थित पार्टी कार्यालयमा वडा सभापति, क्षेत्रीय सभापतिसहित नेता तथा कार्यकर्ता जम्मा भएका थिए । उनीहरूले कार्यालय पुग्दा मूल गेट तथा भित्रका कार्यकक्षमा ताला लगाएर नियमित कामकाज अवरुद्ध भएको पाइएको बताएका छन् ।

मूल गेटको ताला छिचोल्न आफूहरू पछाडिको सिढी प्रयोग गरेर कार्यालयभित्र प्रवेश गरे पनि भित्र सबै कोठामा पनि ताला लगाइएकाले सदस्यता अद्यावधिकलगायतका कार्य अगाडि बढाउन नसकिएको उनीहरूले बताएका छन् ।

विशेष महाधिवेशनको पक्ष–विपक्षमा देखिएको विवादकै कारण केही पक्षले नेपाली कांग्रेस केन्द्रीय समितिको सदस्यता अद्यावधिकसम्बन्धी निर्णय कार्यान्वयन हुन नदिने अडान लिएको छ ।

यस्तै, कार्यालय सचिव प्रयाग जोशी पनि सम्पर्कविहीन रहेको पार्टी कार्यालयमा उपस्थित नेताहरूले बताएका छन् ।