+

इरानमा पक्राउ परेका झा थुनामा, निष्पक्ष सुनुवाइका लागि कूटनीतिक पहल जारी

४ जेष्ठ २०८३, सोमबार १९:०१

काठमाडौं। परराष्ट्र मन्त्रालयले इरानको बन्दर अब्बासमा पुर्पक्षका लागि थुनामा रहेका नेपाली नागरिक अमृत झाको निष्पक्ष सुनुवाइका लागि कूटनीतिक पहल जारी रहेको जनाएको छ।

मन्त्रालयले आज विज्ञप्ति जारी गरी इरानको किश्म टापुमा अवैध सामान तस्करी एवं ओसारपसारको आरोपमा पक्राउ परी थुनामा रहेका झाको सम्बन्धमा निष्पक्ष सुनुवाइका लागि कूटनीतिक पहल जारी रहेको स्पष्ट गरेको हो।

सो मुद्दाको निरुपण इरानको कानुनअनुसार हुने भएकाले उपलब्ध सबै माध्यमको प्रयोग गरी निजको निष्पक्ष सुनुवाइलगायत आवश्यक कानुनी प्रक्रियाका लागि कूटनीतिक पहल जारी राखिएको मन्त्रालयले जनाएको छ।

इरानको स्थानीय अदालतमा सोसम्बन्धी मुद्दा विचाराधीन रहेको जानकारी दिँदै मन्त्रालयले झा थुनामै रहेको अवस्थामा यसअघि निज रिहा भएको भन्ने अनौपचारिक जानकारी सार्वजनिक भएसँगै सिर्जना भएको अन्योल र असुविधाप्रति क्षमायाचना समेत गरेको छ।

अमेरिका–इजरायल र इरानबीच गत ‘२८ फेब्रुअरी’ २०२६ मा द्वन्द्व सुरु हुनुभन्दा अघि एक महिनाअघि झासहित अन्य छ जना विदेशीलाई इरानी सुरक्षाकर्मीहरूले उक्त टापुबाट नियन्त्रणमा लिएको थियो।

गत ‘अप्रिल १५’ का दिन इरानका लागि नेपाली ‘अनररी कन्सल’ शाहराम शान्तियले कतारस्थित नेपाली कार्यवाहक राजदूत कुमार राईलाई झा रिहा भएकोसम्बन्धी खबर पठाएका थिए।

परराष्ट्र मन्त्रालयको सम्बन्धित महाशाखाले झा रिहाइ भएको व्यहोरासहितको प्रतिवेदन परराष्ट्रमन्त्री शिशिर खनाल र सचिव अमृतबहादुर राईलाई बुझाएको थियो। मन्त्रालयले सोही जानकारीका आधारमा उनी जेलमुक्त भएको भनी स्पष्ट गरेको थियो।

परारष्ट्रमन्त्री खनालले आफ्नो सामाजिक सञ्जालबाट सो विषय विषय सार्वजनिक गरेका थिए। साथै, निजलाई नेपाल फिर्ता ल्याउने प्रक्रिया पूरा गर्ने प्रयोजनका लागि नेपाली राजदूतावास, दोहालाई निज रिहा भएको लिखित प्रमाण उपलब्ध गराउन निर्देशन दिइएको थियो।

परराष्ट्रमन्त्री खनाल र मन्त्रालयका उच्च अधिकारीहरू तथा निज झाको परिवारसँग मन्त्रालयमा भएको भेटमा यस विषयमा जानकारी गराइएको मन्त्रालयले स्पष्ट गरेको छ।

यसै सन्दर्भमा निजलाई नेपाल ल्याउन आवश्यक कानुनी प्रक्रिया अघि बढिरहेको तर नेपाली नागरिक झा रिहा भइनसकेको र निज सम्बद्ध मुद्दामा अदालतले विज्ञ प्रतिवेदन तयार गर्न आदेश दिएको भन्ने जानकारीसमेत यसअघि नै सार्वजनिक गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।