+

लागूऔषध सहित पाँच जना पक्राउ

५ जेष्ठ २०८३, मंगलवार १८:२९

काठमाडौं। देशका छुट्टाछुट्टै स्थानबाट प्रहरीले लागूऔषध सहित पाँच जनालाई पक्राउ गरेको छ।

काठमाडौंको महानगरपालिका-१४ बल्खुबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ४० ट्याब्लेट सहित काठमाडौं बल्खु बस्ने नुवाकोट लिखु गाउँपालिका-८ घर भएका २४ वर्षीय प्रकाश दर्जीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ। प्रहरी प्रभाग बल्खुबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।

उदयपुरको उदयपुरगढी गाउँपालिका-४ तितिरेबोट अवैध लागूऔषध गाँजा करिब ६ किलोग्राम सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सिराहा लहान नगरपालिका-१७ बस्ने ४५ वर्षीया लिलादेवी राम र सोही नगरपालिका-८ बस्ने ४० वर्षीया अस्मिता राम रहेका छन्। अस्थायी प्रहरी पोष्ट नेपालटारबाट खटिएको प्रहरीले ढुङग्रेबाट नेपालटारतर्फ आउँदै गरेको स.१ ज ५९० नम्बरको बोलेरोमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो।

सप्तरीको सप्तकोशी नगरपालिका-१ फत्तेपुर जुटपानीबाट अवैध लागूऔषध गाँजा १३ किलो २ सय ५० ग्राम सहित सोही नगरपालिका-९ कमलपुर बस्ने २१ वर्षीय विजय कुमार यादवलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी फत्तेपुरबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो। साथै प्रहरीले घटनामा संलग्न हाल फरार १ जनाको खोजी गरिरहेको छ।

झापाको कनकाई नगरपालिका-३ कालीस्थान चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय मिलिग्राम सहित सोही ठाउँ बस्ने ४३ वर्षीय चन्द्र बहादुर पौडेललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय सुरूङ्गाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो। सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।