काठमाडौं। देशका विभिन्न आठवटा विश्वविद्यालयमा रिक्त रहेका उपकुलपति पदका लागि परेका कूल २१८ जना उम्मेदवारहरूको आवेदनमाथि छनोट तथा सिफारिस समितिले अध्ययन एवं छानबिन सुरु गरेको छ।
शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गत गठित छनोट तथा सिफारिस समितिले योग्य उम्मेदवारहरूलाई १० दिनभित्र दरखास्त दिन गत वैशाख २५ गते आह्वान गरेको थियो। मन्त्रालयका अनुसार तोकिएको समयावधिभित्र सबैभन्दा बढी त्रिभुवन विश्वविद्यालयको उपकुलपति पदका लागि ५० जनाको आवेदन परेको छ।
यसैगरी पूर्वाञ्चल विश्वविद्यालय र पोखरा विश्वविद्यालयका लागि ३८/३८ जना, राजर्षि जनक विश्वविद्यालयका लागि २७ जना, मध्यपश्चिम विश्वविद्यालयका लागि २० जना तथा सुदूरपश्चिम विश्वविद्यालयका लागि १९ जनाको आवेदन परेको छ।
त्यस्तै कृषि तथा वन विज्ञान विश्वविद्यालयका लागि १५ र लुम्बिनी बौद्ध विश्वविद्यालयका लागि ११ जनाले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। समितिले हाल आवेदकहरूको कागजात र योग्यताको अध्ययन गरिरहेको र स्वीकृत उम्मेदवारहरूको नामावली (सर्टलिस्ट) प्रकाशन गरेर छनोटको बाँकी प्रक्रिया अघि बढाउने तयारी गरेको छ।
गत वैशाख २४ गते मात्रै स्वीकृत भएको ‘विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि, २०८३’ को आधारमा यो नियुक्ति प्रक्रिया अगाडि बढाइएको हो।
नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिबाट जारी भएको सार्वजनिक निकायका पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष अध्यादेशमार्फत साबिकका पदाधिकारीहरू पदमुक्त भएपछि रिक्त स्थानमा नयाँ नियुक्तिको बाटो खुलेको हो।
उपकुलपति छनोटका लागि शिक्षामन्त्री सस्मित पोखरेल र शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेलसहित सम्बन्धित विश्वविद्यालयका विज्ञहरू सम्मिलित उच्चस्तरीय समिति गठन गरिएको मन्त्रालयले जनाएको छ।


