+

बड्डीचौर–बिउरेनी–खम्बागाडे सडक, सम्झौता अवधी सकिएको दुई बर्षमा पनि ४० प्रतिशत प्रगति

९ जेष्ठ २०८३, शनिबार १५:४०

सुर्खेत । पञ्चपुरी नगरपालिका र चौकुने गाउँपालिका जोड्ने बड्डीचौर–बिउरेनी–खम्बागाडे सडक निर्माणको सम्झौता अवधी सकिएको दुई बर्ष बितिसक्दा पनि अपेक्षित प्रगती हुन सकेको छैन ।

दुई बर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित २०७९ मा सुरु गरिएको उक्त सडक निर्माणको उपलब्धि चार बर्षमा आधा पनि काम सकिएको छैन । सम्झौताको चार बर्ष बितिसक्दा पनि आयोजनाको भौतिक प्रगति ४० प्रतिशत र वित्तीय प्रगती ३२ दशमलव ५ प्रतिशतमा सीमित रहेको छ ।

सडक निर्माण ढिलाई हुँदा पश्चिम सुर्खेतका सुर्खेतका बराहताल, चौकुने गाउँपालिका र पञ्चपुरी नगरपालिकाबासी सास्ती भोग्नु परेको छ । सडक निर्माणको जिम्मा लिएको अनक÷जयदेवी जेभी निर्माण सेवाले दुई बर्षमा निर्माण सम्पन्न गर्नेगरी सम्झौता गरेको सडकको काम चार वर्ष बित्दासमेत ढिलाइ गरेपछि पश्चिम सुर्खेतका नागरिकले कर्णाली प्रदेश राजधानी आउजाउ गर्दा निकै सास्ती भोग्नु परेको छ । सडकमा हिँउदमा धुमाम्य र बर्खामा हिलाम्य सडकमा कष्टपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको स्थानीय बताउँछन् ।

बड्डीचौर–बीउरेनी–खम्बागाडे सडकको दुरी १३ किलोमिटर रहेको छ । उक्त सडक कालोपत्र गर्ने ठेक्का लिएको निर्माण व्यवसायी कम्पनीको ढिलाईका कारण समयमै काम नसकिएको पूर्वाधार विकास निर्देशनालय सुर्खेतका निमित्त निर्देशक सूर्यबहादुर शाहीले बताए । निर्माण व्यवसायीको लापरवाहीले सडकको काम समयमै हुन नसकेको उनको भनाई छ ।

४२ करोड लागत रहेको सडकमा अहिलेसम्म भौतिक प्रगति ४० प्रतिशत र वित्तीय प्रगति ३२ दशमलव दुई प्रतिशतमात्रै भएको निर्देशक शाहीले बताए ।

‘सम्झौता अवधीमा निर्माण कम्पनीले काम गर्न नसके पछि एक पटक म्याद थपिएको हो’ उनले भने, ‘थप गरिएको समय सीमामाभित्र पनि काम नभए पनि निर्माण कम्पनीलाई अन्तिम ताकेता गरिएको छ ।’

सुरुमा सडक क्षेत्रमा पर्ने जग्गाको भोगाधिकार स्वीकृति, रुख कटान, विद्युत् लाइन व्यवस्थापन, संघीय सरकारबाट हुने निर्णय प्रक्रियालगायत प्रशासनिक तथा प्राविधिक ढिलाइका कारण आयोजनाको काममा ढिलाई भएको उनले बताए ।

आगामी आव २०८३÷८४ को चैत मसान्तसम्म काम सम्पन्न गर्नेगरी दोस्रो पटक म्याद थप्ने तयारी भएको र उक्त अवधीमा पनि काम सम्पन्न नगरे कार्वाही प्रक्रिया अगाडि बढाउने उनले बताए ।
अनक÷जयदेवी जेभी निर्माण सेवाका आधिकारिक प्रतिनिधि शंकर रावतले सुरुमा रुख कटान, भोगाधिकार, विद्युत् लाइन व्यवस्थापनलगायतका जटिलताले काम रोकिए पनि अब त्यसमा सहजता भइसकेकाले काम नरोकिने बताए ।

मध्यपूर्व एसियाको द्वन्द्वको असरले पनि सडक निर्माणमा आवश्यक इन्धनको आपुर्ती गर्न समसइा भएकोले ढिलाई भएको उनले बताए । ‘सडक निर्माणमा दैनिक दुई हजार लिटर तेल जरुरी छ’ उनले भने, ‘अहिले मुस्किलले ६ सय लिटर मात्र आपुर्ती हुन्छ । अनि कसरी काम गर्नु ?’ अब थप गरिएको समयमा निर्माण सम्पन्न गरिसक्ने उनको भनाइ छ ।

सडक निर्माणमा भएको ढिलाइले स्थानीय सरकारहरु पनि आक्रोसित बनेका छन् । चौकुने गाउँपालिकाका अध्यक्ष खड्ग विश्वकर्माले समयमै सडक निर्माण नहुँदा स्थानीयले सास्ती भोग्नु परेको बताए । अब बेलैमा काम नसक्ने निर्माण व्यवसायीलाई क्षतिपुर्ती भराउनुपर्नेमा जोड दिए । पञ्चपुरी नगरपालिकाका प्रमुख लालबहादुर भण्डारीले कुनैपनि बहानामा बिकासका काममा भइरहेको ढिलासुस्ती स्वीकार्य नहुने बताए ।

बराहताल गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी पुन मगरले निर्माण व्यवसायीले समयमा काम नगर्दाको दोष स्थानीय तहका जनप्रतिनिधीले लिनु परेको भन्दै बिकासका काममा ढिलासुस्ती नगर्न सुझाइन् । ‘समयमै सडक निर्माण नहूँदा यात्रुहरुले सास्ती भोग्नु परेको छ भने जनप्रतिनिधीले स्थानीयबाट सडक नबन्दाको हैरानी खेप्नु परेको छ ।’