काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले शिक्षा प्रणालीलाई आत्मनिर्भर र जीवनोपयोगी बनाउने गरी सुधार आवश्यक रहेको बताएका छन्।
परिवर्तन अभियान नेपालले तारकेश्वर नगरपालिकामा एसईई उत्तीर्ण विद्यार्थीहरूको सम्मानमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले परम्परागत मूल्य र आदर्शलाई जोगाउँदै समयअनुकूल परिवर्तन गर्नुपर्नेमा जोड दिए। उनले संस्कृतिमा रहेका सकारात्मक पक्षहरूलाई संरक्षण गर्दै अन्धाधुन्ध परिवर्तन स्वीकार गर्न नहुने धारणा राखे।
उनले भने, ‘शैक्षिक क्षेत्रको सुधार गर्न आवश्यक नै छ। अहिले हामीलाई आत्मनिर्भर, जीवन उपयोगी शिक्षा चाहिएको छ। हाम्रा पुराना आदर्शहरुलाई जोगाएर राख्नुपर्छ। परम्परा तोड्ने नाममा जुत्तालाई टाउकोमा र टोपीलाई खुट्टामा लगाउने काम त पक्कै हामीले गर्नु हुँदैन।’
केसीले लोकतान्त्रिक परम्परा र संवैधानिक अभ्यासको पालना अनिवार्य रहेको उल्लेख गर्दै लोकतान्त्रिक मूल्यमान्यताभन्दा बाहिर जाने प्रवृत्ति निरंकुश हुने टिप्पणी गरे। उनले वर्तमान सरकारबारे टिप्पणी गर्दै लोकतान्त्रिक परम्पराभित्र रहेर काम गर्नुपर्ने आवश्यकता औंल्याए।
उनले भने, ‘कतिपय परिवर्तनहरु खासगरी लोकतान्त्रिक मान्यताका परम्पराहरु परिवर्तनशिल छैनन्। कि त व्यवस्था नै परिवर्तन हुनुपर्यो। अहिले परिवर्तित भएर आएको सरकार लोकतान्त्रिक परम्पराको संविधान भित्रको होइन। लोकतान्त्रिक परम्पराबाट बाहिर जानु निरकुंश प्रवृत्ति हो भन्ने लाग्छ। अहिले पनि प्रतिक्षामा छौं, हामी कुनै सरकारलाई असजिलो बनाउने पक्षमा पटक्कै छैनौं।’
त्यस्तै, संसद र संसदीय अभ्यासबारे बोल्दै उनले सरकारले नीति तथा कार्यक्रम पारित हुने प्रक्रियामा राष्ट्रिय सभाको भूमिका र संसदीय परम्पराको सम्मान गरिएको उल्लेख गरे। प्रधानमन्त्रीको संसदमा अनुपस्थितिलाई लिएर उठेका प्रश्नहरूबारे आफ्नो दलले गम्भीर रूपमा चासो राखेको पनि उनले बताए।
उनले भने, ‘यदी सरकारलाई असजिलो बनाउन चाहेको भए राष्ट्रिय सभाबाटै नीति तथा कार्यक्रम फेल गर्न सक्थ्यौं होला। संसारभरको परम्परामा हुँदा पनि संसदमा प्रधानमन्त्री उपस्थिति नहुने कुरामा गम्भीर असहमति र गम्भिरतापूर्वक उठाएको कुरा हो।’
नेता केसीले नेपाली कांग्रेस देशको हित, समृद्धि र रचनात्मक काममा सधैं सहयोग गर्न तयार रहेको तर लोकतान्त्रिक सिद्धान्त र स्थापित परम्परा कमजोर पार्ने प्रयास स्वीकार्य नहुने स्पष्ट पारे।
उनले भने, ‘कहिले पनि रचनात्मक काम, देशको हित हुने काम, समृद्धिका काममा नेपाली कांग्रेस प्रतिक्षा र धैर्यतापूर्वक सहयोग गर्न तयार छ। तर परम्परा तोड्ने काममा लोकतन्त्रका आधारभूत सिद्धान्तहरुलाई तोड्ने र विश्वव्यापी रुपबाट रहेका मान्यता तोड्ने, हाम्रा इतिहास परम्परा र गौरवहरुलाई तोड्ने काम नेपाली कांग्रेस स्वीकार्य गर्न सक्दैन र गर्दैन पनि।’
सोही कार्यक्रमम कांग्रेसका सचेतक निश्कल राई, कांग्रेस नेता सबुज बाँनियालगायतले आफ्नो धारणा राखेका थिए।


