बेलबारी (मोरङ)। सडक सञ्जालमार्फत एसियाली राष्ट्रलाई जोड्ने मुख्य उद्देश्यका साथ अगाडि बढाइएको ‘एसियन हाइवे’ अन्तर्गत काँकरभिट्टाबाट लौकही सडकखण्डमा विटुमिन (अलकत्रा) को अभाव भएपछि कालोपत्र गर्न ढिलासुस्ती भएको छ।
विटुमिन अभाव साथै गुणस्तरिय नपाएको कारण कालोपत्र गर्न ढिलासुस्ती भएको आयोजनाअन्तर्गत पश्चिमखण्ड इटहरी कार्यालयका प्रमुख जगत प्रजापतिले बताए। उनका अनुसार दुई महिना अघिसम्म प्रतिलिटर रु १०० देखि रु ११० सम्ममा पाइरहेको भारतीय विटुमिन अहिले रु १५० भन्दा बढी पर्न थालेको छ। नेपाल विटुमिन तथा ब्यारल उद्योगले भने विटुमिनको अभाव नभई मूल्य भने अप्रत्यासित रूपमा बढेको जनाएको छ।
निर्माण सुरु भएको ३० महिना बितिसक्दा करिब ४० प्रतिशत काम सकिएको प्रमुख प्रजापतिले जानकारी दिए। उनका अनुसार विटुमिन अभाव भए पनि कङ्क्रिटसम्बन्धी काम धमाधम भइरहेका छन्। हाल ओभरपास, अण्डरपास, वेस, सववेस, नालालगायत संरचना निमार्ण तीव्र रूपमा भइरहेको उनले जानकारी दिए।
प्रमुख प्रजापतिका अनुसार एसियन राजमार्ग नं २ अन्तर्गत काँकरभिट्टाबाट पश्चिम ९५ दशमलव ७६ किमी सडक मात्र ठेक्का लागेर काम भइरहेको छ। “पूर्वी र पश्चिम खण्ड गरी दुई भागमा विभाजन गरेर काम भइरहेको छ। निर्माण सामग्री उपलब्धतामा सहजता भएमा कामले तीव्रता पाउनेछ”, उनले भने।
एसियन हाइवे निर्माण सम्पन्न भएमा थाइल्याण्डको बैंककबाट सुरु भई म्यान्मार, बङ्गलादेश, भारत हुँदै नेपालको काँकडभिट्टाबाट पूर्व-पश्चिम राजमार्ग भएर भारतको दिल्ली हुँदै पाकिस्तानको कराँचीसम्म पुग्ने प्रमुख प्रजापतिले जानकारी दिए। तीन वर्षमा निर्माण सम्पन्न गर्ने योजनाका साथ एसियाली विकास बैंकको आर्थिक सहयोगमा विसं २०८० माघ १९ गतेदेखि सडक निर्माण सुरु भएको थियो।


