+

इरानसँगको सम्झौतामा हतार नगर्न ट्रम्पको निर्देशन

११ जेष्ठ २०८३, सोमबार ०७:१९

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी वार्ताका क्रममा आफ्ना वार्ताकारहरूलाई सम्झौताका लागि हतार नगर्न निर्देशन दिएका छन्। इरान र अमेरिकाबिच सम्झौताको सहमति नजिक पुगेको रिपोर्टहरू सार्वजनिक भइरहेका बेला ट्रम्पको यस्तो भनाइ बाहिर आएको हो।

अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार दुई देशबीच भइरहेको छलफलमा ६० दिनको युद्धविराम थप गर्ने, स्ट्रेट अफ होर्मजलाई पुनः खोल्ने र इरानको आणविक कार्यक्रमका विषयमा थप वार्ता अगाडि बढाउने बुँदाहरू समावेश छन्।

राष्ट्रपति ट्रम्पले सामाजिक सञ्चालनमा एक पोस्ट गर्दै वार्ता रचनात्मक रूपमा अघि बढिरहेको भए पनि दुवै पक्षले पर्याप्त समय लिएर यसलाई सही रूपमा टुङ्ग्याउनुपर्ने उल्लेख गरेका छन्। यसअघि शनिबार मात्रै ट्रम्पले धेरैजसो बुँदामा सम्झौता भइसकेको बताएका थिए, जसले गर्दा छिट्टै नै औपचारिक घोषणा हुन सक्ने अनुमान गरिएको थियो।

इरानी सञ्चारमाध्यमहरूले भने सम्भावित सम्झौतामा अझै पनि एक वा दुई बुँदामा असहमति कायमै रहेको जनाएका छन्। इरानी अधिकारीहरूले पनि सप्ताहान्तमा भएको वार्तामा प्रगति भएको संकेत त गरेका छन्, तर विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले प्रगतिको अर्थ मुख्य मुद्दाहरूमा सम्झौता भइहाल्छ भन्ने नभएको स्पष्ट पारेका छन्।

प्रस्तावित सम्झौतालाई लिएर अमेरिकी रिपब्लिकन पार्टीभित्रै भने मतविभाजन देखिएको छ। कतिपय नेताहरूले यो सम्झौता इरानप्रति निकै नरम भएको भन्दै सार्वजनिक रूपमै आलोचना गरेका छन्।

सिनेटर टेड क्रुजले यो सम्झौता हुनुलाई एउटा विनाशकारी गल्तीको संज्ञा दिएका छन् भने सिनेट आम्र्ड सर्भिस कमिटीका अध्यक्ष रोजर विकरले ६० दिने युद्धविराम भएमा ‘अपरेशन एपिक फ्युरी’ मार्फत हासिल गरिएका सबै उपलब्धिहरू व्यर्थ हुने दाबी गरेका छन्। तर, हाउस फरेन अफेयर्स कमिटीका सदस्य माइक ललरले भने ट्रम्प प्रशासनले इरानी शासनलाई वास्तविक वार्ताको टेबलमा आउन बाध्य पारेको भन्दै बचाउ गरेका छन्।

अमेरिका र इजरायलले गत फेब्रुअरी २८ मा इरानमाथि व्यापक हवाई आक्रमण गरेपछि पश्चिम एसियामा ठुलो तनाव सिर्जना भएको थियो। त्यसको जवाफमा इरानले पनि इजरायल र खाडी क्षेत्रमा रहेका अमेरिकी सहयोगी राष्ट्रहरूमाथि आक्रमण गरेको थियो। पछि वार्तालाई सहज बनाउन गत अप्रिलमा युद्धविरामको सहमति भएको थियो, जुन केही सानातिना भिडन्तका बाबजुद अहिलेसम्म धेरै हदसम्म पालना भइरहेको छ।

आइतबार ट्रुथ सोसलमा पोस्ट गर्दै ट्रम्पले भनेका छन्, ‘वार्ता व्यवस्थित र रचनात्मक रूपमा अगाडि बढिरहेको छ, र मैले मेरा प्रतिनिधिहरूलाई सम्झौताका लागि हतार नगर्न निर्देशन दिएको छु किनभने समय हाम्रो पक्षमा छ। दुवै पक्षले समय लिएर यसलाई सही ढङ्गले टुङ्ग्याउनुपर्छ, यसमा कुनै गल्ती हुनुहुँदैन।‘

ट्रम्पले इरानले आणविक हतियार बनाउन नपाउने कुरा बुझ्नैपर्ने समेत उल्लेख गरे। इरानले आणविक हतियार बनाउन खोजेको आशङ्का अमेरिका र इजरायलसहितका पश्चिमा देशहरूले गर्दै आए पनि तेहरानले भने आफ्नो आणविक कार्यक्रम पूर्ण रूपमा शान्तिपूर्ण प्रयोजनका लागि मात्र भएको दाबी गर्दै आएको छ।