काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को महानिर्देशक पदमा सहसचिव मुकेश डंगोल नियुक्त भएका छन्। सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले डंगोललाई प्राधिकरणको नेतृत्व सुम्पिने निर्णय गरेको हो।
मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गर्दै सरकारका प्रवक्ता सस्मित पोखरेलले पर्यटन मन्त्रालयका सहसचिव डंगोललाई महानिर्देशक नियुक्त गरिएको जानकारी दिए।
नवनियुक्त महानिर्देशक डंगोल हाल संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सहसचिवका रूपमा कार्यरत छन्। यसअघि उनले प्राधिकरणकै निमित्त महानिर्देशकका रूपमा समेत सफलतापूर्वक कार्यभार सम्हालिसकेका छन्।
प्राविधिक तथा प्रशासनिक रूपमा कुशल मानिने डंगोलले यसअघि पर्यटन मन्त्रालयमा शाखा अधिकृतका रूपमा कार्यरत रहँदै खुला प्रतिस्पर्धाबाट सिधै सहसचिव पदमा नाम निकाल्न सफल भएका थिए।
प्राधिकरणको नेतृत्व सम्हालेसँगै उड्डयन क्षेत्रको सुरक्षा, सुशासन र व्यवस्थापकीय सुधार गर्ने मुख्य चुनौती र जिम्मेवारी अब उनको काँधमा आएको छ।


