+

छुमचौरमा मार्सीधान रोपाइँ

११ जेष्ठ २०८३, सोमबार १८:५६

जुम्ला। पातारासी गाउँपालिका–३ स्थित छुमचौरमा धान रोपाइँ सुरु भएको छ। चिसोका कारण असारमा रोपेको धान समयमै नपाक्ने भएकाले यहाँ जेठमै धान रोप्ने परम्परा छ।

गाउँपालिकाको कृषि शाखाको आयोजनामा कृषि विकास कार्यालयका कर्मचारीलागायत स्थानीयको सक्रियतामा छुमचौरको जिउलोमा धान महोत्सव आयोजना गरी रोपाइँ सुरु गरिएको गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले जानकारी दिइन्।

पछिल्लो समय बजारमा मार्सी चामलको माग उच्च रहे पनि यसको उत्पादन घट्दै गएको छ। मार्सी लोप हुन नदिन गाउँपालिकाको छुमचौर जिउलोमा सामूहिक रोपाइँ गर्ने चलन सुरु गरेको प्रमुख प्रशासकीय अधिकृत हेम शर्मा चापागार्इंले जानकारी दिइन्।

जिल्लामा दुई हजार ८८८ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ। जसमध्ये एक हजार ६८ हेक्टर अर्थात् ३७ प्रतिशत क्षेत्रफलमा रैथाने जुम्ली मार्सी धान उत्पादन हुने गरेको कृषि विकास कार्यालयका प्रमुख रामभक्त अधिकारीले बताए।

गत वर्षको कात्तिकदेखि फागुन मसान्तसम्मको अवधिमा जिल्लाबाहिर करिब १७५ मेट्रिक टन जुम्ली मार्सीधानको चामल बिक्री वितरणबाट करिब रु तीन करोड ५० लाख किसानले आम्दानी गरेको कृषि विकास कार्यालयका प्रमुख अधिकारीको भनाइ छ।

परम्परागत खेती प्रविधिमा केही रोग कीरा बढ्दा कृषि अनुसन्धान केन्द्रले चन्दननाथ १ र ३ जातको धान यहाँका विभिन्न क्षेत्रमा लगाउन यहाँ सिफारिस गरिएको छ। अनुसन्धानले आगामी वर्ष मार्सी १८, २० र २२ जातको धान सिफारिस गर्ने क्रममा रहेको कृषि विकास कार्यालयका प्रमुख अधिकारीले जानकारी दिए।