काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद आशिष गजुरेलले पानीमा डुबेर वा बगेर हुने मृत्युका घटनाप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले नेपालमा पानीजन्य दुर्घटनाबाट ज्यान गुमाउनेहरूको संख्या डरलाग्दो र चिन्ताजनक रहेको बताए।
नेपाल प्रहरीको आधिकारिक तथ्यांकअनुसार मुलुकमा हरेक वर्ष करिब ४ सय जनाको डुबेर वा बगेर मृत्यु हुने गरेको उल्लेख गर्दै उनले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को अनुमान अनुसन्धानलाई हेर्ने हो भने यो संख्या वार्षिक १५ सयसम्म पुग्न सक्ने चेतावनी दिए।
यसरी अकालमा ज्यान गुमाउने पीडितहरूमध्ये आधाभन्दा बढी संख्या २५ वर्षमुनिका युवा र अबोध बालबालिकाहरूको रहेको भन्दै उनले संसद्मा चिन्ता व्यक्त गरे।
सांसद गजुरेलले भर्खरै गत जेठ १० गते सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिका-५ सित्खास्थित सुनकोशी नदीमा पौडी खेल्ने क्रममा डुबेर ९ वर्षीय सफल पुलामी मगर र १० वर्षीय युकेश विकको दुखद मृत्यु भएको घटनालाई संसद्मा स्मरण गराए।
यस्ता हृदयविदारक दुर्घटनाहरू बारम्बार दोहोरिनुले समाजमा जनचेतनाको अभाव, राज्यको फितलो सुरक्षा व्यवस्था र पूर्वसतर्कता अपनाउने पद्धतिमा ठूलो कमजोरी रहेको स्पष्ट देखाएको उनको भनाइ छ।
नदी, तालतलैया र जलाशयहरूमा हुने यस्ता भवितव्य सङ्कटहरू न्यूनीकरण गर्न विद्यालय, अभिभावक, स्थानीय तह र समुदाय आफैँ पनि बालबालिकाको पानीजन्य जोखिमबारे थप संवेदनशील र सचेत हुनुपर्ने आवश्यकता उनले औँल्याए ।
साथै, देशका पहिचान गरिएका सम्पूर्ण जोखिमयुक्त क्षेत्रहरूमा चेतावनीमूलक होर्डिङ बोर्डहरू राख्न, नदी किनार र जलाशयहरूमा आवश्यक तारबार तथा सुरक्षा घेराको प्रबन्ध मिलाउन र समुदायस्तरसम्मै जनचेतनामूलक कार्यक्रमहरू प्रभावकारी रूपमा सञ्चालन गर्न उनले सरकारसँग जोडदार माग गरे ।


