काठमाडौं। श्रम संस्कृति पार्टीले आफ्ना सांगठनिक एवं प्रचारप्रसारका कार्यक्रमहरूमा पार्टी अध्यक्ष हर्क साम्पाङको तस्वीर अनिवार्य रूपमा प्रयोग गर्नुपर्ने ह्विप (निर्देशन) जारी गरेको छ।
पार्टीको कोशी प्रदेश कमिटीले मातहतका सबै तहलाई औपचारिक पत्र लेख्दै ब्यानर तथा प्रचार सामाग्रीहरूमा अध्यक्ष साम्पाङको तस्वीर राख्न अनिवार्य गरेको हो।
कोशी प्रदेशका अध्यक्ष प्रताप राई र सचिव दिपक तिमिल्सिनाद्वारा संयुक्त रूपमा हस्ताक्षरित पत्रमार्फत यो संगठनात्मक निर्देशन जारी गरिएको बताइएको छ।
पार्टीद्वारा जारी आधिकारिक वक्तव्यमा १ नम्बर (कोशी) प्रदेश मातहतमा रहेका सबै जिल्ला, महानगरपालिका, उपमहानगरपालिका, पालिका, वडा, तथा टोल समितिहरूलाई सम्बोधन गर्दै विशेष परिपत्र गरिएको छ।
उक्त पत्रमा भनिएको छ, ‘श्रम संस्कृति पार्टी १ नम्बर प्रदेश मातहतमा रहेका जिल्ला, महानगरपालिका, उपमहानगरपालिका, पालिका, वडा, टोलभित्र गरिने कार्यक्रमको ब्यानर तथा प्रचार प्रसार सामाग्रीहरूमा श्रद्धेय श्रम पिता अध्यक्ष हर्क साम्पाङज्यूको तस्बिर अनिवार्य रूपमा प्रयोग गर्नु, गराउनुपर्ने अनुरोध गर्दछौँ।’
विशेषगरी सामाजिक र राजनीतिक क्षेत्रमा श्रम संस्कृतिलाई स्थापित गराउने अभियान चलाइरहेका धरान उपमहानगरपालिकाका प्रमुख समेत रहेका अध्यक्ष साम्पाङलाई पार्टीले यस पत्रमार्फत ‘श्रद्धेय श्रम पिता’ को उपमा दिएर व्याख्या गरेको छ।
दलको आन्तरिक अनुशासन र प्रचार शैलीमा एकरूपता ल्याउनका लागि कोशी प्रदेश कमिटीले यो निर्णय लिएको र यसलाई तल्लो तहसम्म पूर्ण रूपमा कार्यान्वयन गराउन कडा निर्देशन समेत दिएको छ।


